माओवादीले राष्ट्रियसभा अध्यक्ष छोड्न नहुने नेताहरूको सुझाव छ : प्रधानमन्त्री

आफूले राष्ट्रियसभामा कृष्णप्रसाद सिटौला जस्ता व्यक्ति आउनुपर्छ भनेको भए पनि अहिले वातावरण परिवर्तन भएको प्रधानमन्त्री दाहालको भनाइ छ।

चितवन– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको गठबन्धनलाई राम्रोसँग लैजान आफूहरू प्रतिबद्ध रहेको बताएका छन्।

बिहीबार चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले गठबन्धनलाई राम्रोसँग लैजाने कुरामा आफू प्रतिबद्ध रहेको बताएका हुन्। “गठबन्धन राम्रैसँग गइराखेको थियो, राम्रैसँग लाने कुरामा हामी प्रतिबद्ध थियौँ र छौँ पनि,” उनले भने।

नेपाली कांग्रेसको हालै सम्पन्न महासमितिको बैठकमा आवश्यक नभएका कुराहरू उठेको उनको भनाइ छ। बैठकमा बृहत् शान्ति सम्झौताको हस्ताक्षरकर्ता पार्टी कांग्रेसले उठाउनु नपर्ने विषय उठाएको भन्दै प्रधानमन्त्री दाहालले यो विषयलाई छलफलबाट टुंगो लाग्ने बताए।

आफूले राष्ट्रियसभामा कृष्णप्रसाद सिटौला जस्ता व्यक्ति आउनुपर्छ भनेको भए पनि अहिले वातावरण परिवर्तन भएको प्रधानमन्त्री दाहालको भनाइ थियो। पार्टीको स्थायी समिति बैठकमा नेताहरूले राष्ट्रियसभाको अध्यक्ष छोड्नु हुँदैन भनेको पनि उनले बताए। “यो विषयमा ठोस निर्णय भएको छैन। छलफल चलेको छ,” उनले भने।

कोशीमा माओवादी केन्द्रको उम्मेदवार पराजित हुने स्थिति कांग्रेसका कारण भएको भन्दै उनले पार्टीका नेता तथा कार्यकर्ताहरू आक्रोशित भएको बताए।

फरक प्रसंगमा प्रधानमन्त्रीले चितवनवासीका लागि गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला र भरतपुर विमानस्थल निर्माणको कुरा सुखद रहेको बताए। तीन वर्षदेखि बन्न नसकेको रंगशाला निर्माणका लागि संघीय सरकारले नीतिगत निर्णय गरेर बाटो खुलाएको बताए। आफूहरूले पहिलादेखि नै सोचेको सपना पूरा हुन लागेको उनले बताए।