डोटीमा उत्पादित उन्नत मकैको बीउ झापामा बिक्री

डोटीको जोरायल गाउँपालिका–४ स्थित लक्ष्मी सरस्वती बहुउद्देश्यीय सहकारीले ६९ टन उन्नत जातको मकैको बीउ बिक्री गर्ने भएको छ।

डोटी– डोटीको जोरायल गाउँपालिका–४ स्थित लक्ष्मी सरस्वती बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले ६९ टन उन्नत जातको मकैको बीउ बिक्री गर्ने भएको छ।

सहकारीले किसानबाट संकलन गरी ६९ हजार ६८८ किलो मकैको बीउ बिक्री गर्ने भएको हो। सहकारीले मंसिरदेखि किसानबाट मकै संकलन गर्न शुरू गरी चैतसम्म प्रमाणीकरणसहित ‘प्याकिङ’ गरेर पुनः बीउ किसानसम्म पुर्‍याउने गरेको छ।

यस वर्षको अहिलेसम्म १४ हजार १७० किलो मकैको बीउ बिक्री भइसकेको सहकारीका व्यवस्थापक ठक्करबहादुर कठायतले बताए। ५५ हजार ५१८ किलो मकैबीउ बिक्रीका लागि तयारी अवस्थामा छ। सहकारीले प्रतिकिलो ८० रुपैयाँका दरले बीउ बिक्री गर्दछ। सहकारीले अरुण–२, अरुण–४, मनकामना–३, पोषिलो, रामपुर, कम्पोजिटलगायतका विभिन्न उन्नत जातका बीउ बिक्री गर्दै आइरहेको छ।

सहकारीले विभिन्न एग्रोभेटमार्फत बीउ आपूर्ति गर्दै आएको छ। डोटीको जोरायलमा उत्पादन भएको मकैको बीउ झापा जिल्लासम्मै पुग्ने गरेको सहकारीले जनाएको छ। सहकारीले बिक्री गर्ने बीउबाट उत्पादन भएको मकै विशेष गरेर पोलेर खान, कुखुराका लागि दाना बनाउनलगायतका विभिन्न प्रयोजनमा आउने गर्छ।

सहकारीले गत वर्ष ५४ लाख ४० हजार बराबरको ६८ टन मकैको बीउ बिक्री गरेको थियो।