महानगरविरुद्ध कवाडी संकलकहरूको विरोध प्रदर्शन (तस्वीरसहित)

आफूहरूले प्रचलित कानूनबमोजिम दर्ता भएर सरकारलाई तिर्नुपर्ने कर तिर्दै आएको भन्दै निर्वाध रूपमा व्यवसाय संचालन गर्न दिन उनीहरूले माग गरेका छन्।

काठमाडाैँ– काठमाडौँ महानगरपालिकाको निर्णयविरुद्ध कवाडी संकलकहरूले शुक्रबार विरोध प्रदर्शन र्‍याली निकालेका छन्। अनधिकृतरूपमा रहेका संकलन केन्द्रहरूमा महानगरले डोजर चलाउन लागेपछि कवाडी संकलकहरू आक्रोशमा आएका हुन्।

यसअघि माघ १९ मा महानगर अन्तर्गत आफ्नो क्षेत्रभित्र दर्ता भई व्यवसाय गर्दै आएका कवाडी व्यवसायीलाई व्यवसाय हटाउन भन्दै वडा कार्यालयमार्फत पत्र पठाएको थियो। प्रदूषण, आगलागी लगायतको जोखिम भएको भन्दै कवाड संकलन केन्द्र हटाउन ३५ दिने सूचना जारी गरेको थियो।

त्यसपछि कवाड व्यवसायी संघ नेपालले महानगरको उक्त निर्णयप्रति आपत्ति जनाउँदै विज्ञप्ति नै जारी गरेको थियो। आफूहरूले प्रचलित कानूनबमोजिम दर्ता भएर सरकारलाई तिर्नुपर्ने कर तिर्दै आएको भन्दै निर्वाध रूपमा व्यवसाय संचालन गर्न दिन उनीहरूले माग गरेका छन्। तर महानगरले कवाड संकलन केन्द्रमा डोजर चलाएपछि आज प्रदर्शनमा उत्रिएका हुन्।