‘हामीसँग दुई वटा विकल्प थिए। आगोमा जलेर मर्ने या हाम फाल्ने। नवौँ तलाबाट हाम फालेर बाँच्ने सम्भावना धेरै कम थियो।’
काठमाडौँ– बांग्लादेशको राजधानी ढाकास्थित व्यापारिक मलको एक रेस्टुरेन्टमा बिहीबार राति आगलागी हुँदा जलेर ४६ जनाको मृत्यु भयो। उक्त आगलागीको घटनाका एक साक्षी हुन् ढाकास्थित स्टायमफोर्ड विश्वविद्यालयका प्रोफेसर कमरुज्जमान मजुमदार। दुई घण्टापछि अग्नि नियन्त्रकहरूले उनीसहित ४० जनालाई भवनको माथिल्लो तलाबाट उद्धार गरेका थिए। बहुतले व्यापारिक भवनमा भएको आगलागीबाट बच्न सफल मजुमदारसँग उकालोका लागि मुकेश पोखरेलले गरेको कुराकानी उनकै शब्दमा:
बिहीबार सात वर्षीया कान्छी छोरीको जन्मदिन थियो। छोरीको जन्मदिन मनाउने उद्देश्यले म, दुई छोरी र श्रीमतीसहित बजार निस्क्यौँ। हाम्रो योजना केही किनमेल गर्ने र रेस्टुरेन्टमा खाना खाने थियो। त्यस्तै, रातको ९:३०–९:४५ बजेतिर हामी सपिङ मलमा प्रवेश गर्यौँ। त्यो व्यापारिक भवन थियो। त्यहाँ रेस्टुरेन्ट र अन्य विभिन्न सामग्रीहरू बेच्ने पसलहरू थिए। हामी किनमेल सकेर रेस्टुरेन्टमा पुग्यौँ। अनि खानाको ‘अर्डर’ गर्यौँ। खाना पर्खिंदै गर्दा मैले फरक धुवाँको अनुभव गरेँ।
बाहिर मानिसहरू चिच्याएको आवाज पनि आयो। अनि म झ्यालमा पुगेँ। मानिसहरूले चिच्याएर हातको इसाराले भवनमा भएका मानिसहरूलाई बाहिर आऊ भनेर बोलाइरहेका थिए। त्यसपछि भित्र भएका मानिसहरूबीच पनि कोलाहल मच्चियो। कोही मानिस तलबाट माथितिर भाग्न थाले। त्यहाँ भागदौड मच्चिरहेको थियो।
खाना अर्डर गरे पनि हामीले खान सकेनौँ। अब के गर्ने, कता भाग्ने भयो। मैले माथि छतमा जाने निर्णय गरेँ। किनभने त्यहाँ खुल्ला ठाउँ थियो। हामी सपरिवार माथि उक्लियौँ। समय जति–जति बित्दै थियो आगोको लप्काको तातो महसुस उति–उति बढ्दै थियो। २०–२५ मिनेटपछि नै आगोको लप्का तलबाट माथितिर आइसकेको थियो।
हामीसँग दुई वटा विकल्प थिए। आगोमा जलेर मर्ने या हाम फाल्ने। नवौँ तलाबाट हाम फालेर बाँच्ने सम्भावना धेरै कम थियो। मेरो मनमा अब केही समयमै आगोमा जलेर मरिन्छ भन्ने कुरा मात्र आइरहेको थियो। त्यहाँ भएका महिला र बालबालिका अल्लाहको नाम लिँदै चिच्याइरहेका थिए।
मसँग आगलागीबाट बच्ने उपायका बारेमा काम गरेको अनुभव पनि थियो, जसले गर्दा सकेसम्म हाम फाल्नु हुन्न भन्ने पक्षमै थिएँ। त्यहाँ हामी ४० जना जति थियौँ। केही नवौँ तलाबाट हाम फाल्न तम्सिएका थिए। तर उनीहरूलाई मेले रोकेँ। हामीले ११ बजेसम्म मद्दत पाएनौँ। ११ बजे एउटा ड्रोन आयो। उक्त ड्रोन त्यहाँ कति मानिस छन् भनेर हेर्न आएको थियो। त्यसको १३ मिनेटमै अग्नि नियन्त्रकहरूले तलबाट पानी फाल्न थाले। तापक्रम केही घट्दै गयो। अग्नि नियन्त्रकहरू भित्ता फोड्दै हामीनजिक आइपुगे र ठूलो क्रेनको मद्दतबाट हामीलाई त्यहाँबाट उद्धार गर्न थाले। पहिलो खेपमा महिला, बालबालिका र बिरामीलाई सुरक्षित साथ तल लगे।
दोस्रो खेपमा हामी पुरुषहरू तल सुरक्षित रूपमा जान सफल भयौँ। म अहिले पनि आगो कसरी शुरू भयो भन्न सक्दिनँ। आगो, भूँइतला वा पहिलो तलाबाट शुरू भएको हुनसक्ने मेरो अनुमान छ। १० मिनेट मात्र ढिला भएको भए पनि हामी छतमा रहेका ४० जना सबै आगोमा डढेर मर्ने थियौँ। धन्न अल्लाहले हामीलाई बचाए। यो हाम्रो दोस्रो जीवन हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
