२ परियोजनालाई २६ अर्ब ५१ करोड ऋण दिने विश्व बैंकको निर्णय

विश्व बैंकले नेपालका दुई परियोजनाका लागि करिब २६ अर्ब ५१ करोड रुपैयाँ बराबरको ऋण दिने भएको छ।

काठमाडौँ– विश्व बैंकले नेपालका दुई परियोजनाका लागि दुई सय मिलियन अमेरिकी डलर (करिब २६ अर्ब ५१ करोड रुपैयाँ) बराबरको ऋण दिने भएको छ।

विश्व बैंकको कार्यकारिणी समितिको शुक्रबारको बैठकले सो निर्णय गरेको हो। उक्त सहयोगबाट नेपालको प्रादेशिक र स्थानीय सडक सञ्जाल विस्तार एवं मर्मत–सम्भारमा सहयोग पुग्ने बैंकले जनाएको छ।

“विश्वबैंक नेपालको समावेशी विकासमा सहयोग गर्न प्रतिबद्ध छ। विश्व बैंकको इन्टरनेसनल डेभलपमेन्ट एसोसिएसन (आईडीए)मार्फत हामीले सेवा र पूर्वाधारमार्फत नेपालीको जीवनस्तर सुधारका लागि सहयोग केन्द्रित गरेका छौँ,” बैंकका माल्दिभ्स, नेपाल र श्रीलंकाका देशीय निर्देशक फेरिस हदाद जार्भोसले भने।

वाशिंटन डिसीस्थित बैंकको प्रधान कार्यालयले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार नेपाललाई प्रदान गरिने सहायता रकममध्ये एक सय मिलियन (करिब १३ अर्ब २५ करोड रुपैयाँ) रकम राजस्व संकलनमा सुधार ल्याउन र ऋण व्यवस्थापनको पारदर्शिता अभिवृद्धिमा उपयोग गरिनेछ। प्रत्यक्ष वैदेशिक लगानी प्रक्रियालाई स्वचालित बनाउन सो रकम प्रयोग गरिनेछ।

यस्तै, एक सय मिलियन (करिब १३ अर्ब २५ रुपैयाँ) बढी रकम भने प्रादेशिक (मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेश) र स्थानीय सडक पूर्वाधारको मर्मत–सम्भारमा खर्च हुनेछ। त्यसबाट सेवा प्रवाहमा प्रभावकारिताका साथै स्थानीय समुदायमा सहज पहुँच पुग्नेछ।