महिला फुटबल टोलीका खेलाडीलाई‌ जनही ५१ हजार दिने एन्फाको घोषणा

साउदी अरबबाट शुक्रबार राति फर्किएको टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्दै एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङले प्रोत्साहनस्वरूप उक्त रकम दिने घोषणा गरेका हुन्। 

काठमाडौँ– नेपाल फुटबल संघ (एन्फा)ले नेपाली राष्ट्रिय महिला फुटबल टोलीका खेलाडीलाई‌ जनही ५१ हजार रुपैयाँ दिने भएको छ।

साउदी अरबबाट शुक्रबार राति फर्किएको टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्दै एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङले प्रोत्साहनस्वरूप उक्त रकम दिने घोषणा गरेका हुन्। 

आगामी सोमबारसम्ममा उक्त रकम एन्फाले खेलाडीको खातामा पुग्ने उनले बताए। नेपाली टोली वाफ च्याम्पियनसिपको उपविजेता बनेर फर्किएको हो। 

यसअघि नै मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिकाराम लामाले महिला टोलीलाई‌ एक लाख रुपैयाँ दिने घोषणा गरेका थिए । शुक्रबार लामाले त्यसमा २५ हजार रुपैयाँ थपेर दिने जनाएका छन्।

नेपाल बिहीबार वाफ च्याम्पियनसिपको‌ फाइनलमा जोर्डन सँग पेनाल्टी सुटआउटमा ५–३ ले पराजित भएको थियो।