टीकापुर अस्पतालमा ४ वर्षमा २ हजार महिलाको पाठेघरको शल्यक्रिया

टीकापुर अस्पतालमा गर्भवती, पाठेघरसम्बन्धी समस्या भएका, पाठेघरमा मासु पलाएका तथा अन्य समस्या भएका महिला उपचारका लागि आउने गरेका छन्। 

टीकापुर– कैलालीको टीकापुर अस्पतालमा चार वर्षमा दुई हजारभन्दा बढी महिलाले शल्यक्रिया सेवा लिएका छन्। उक्त संख्या सुत्केरी सेवा र पाठेघरको शल्यक्रिया सेवा लिएका महिलाको मात्र हो। 

सुत्केरी सेवा लिने र पाठेघरको समस्या भएकालाई शल्यक्रिया सेवा प्रदान गरिएको अस्पतालका स्त्री रोग विशेषज्ञ डा. सञ्जयकुमार दासले बताए। सो अवधिमा जटिलता रहेका तीन हजारभन्दा बढीलाई नर्मल सुत्केरी सेवा दिइएको उनको भनाइ छ। 

टीकापुर अस्पतालमा हरेक महिना झन्डै २०० ले सुत्केरी सेवा लिने गरेका छन्। सुत्केरी हुन जटिलता भएका ३५ देखि ४० जनाको शल्यक्रिया हुने गरेको डा. दास बताउँछन्। यसबाहेक अस्पतालमा सातामा तीन/चार महिलाको पाठेघरको शल्यक्रिया हुने गरेको छ।

अस्पतालले पाठेघरको ल्याप्रोस्कोपी प्रविधिबाटसमेत शल्यक्रिया सेवा दिने गरेको छ। ल्याप्रोस्कोपी प्रविधिबाट हालसम्म आठ जनाको शल्यक्रिया गरिएको छ। 

टीकापुर अस्पतालमा गर्भवती, पाठेघरसम्बन्धी समस्या भएका, पाठेघरमा मासु पलाएका तथा अन्य समस्या भएका महिला उपचारका लागि आउने गरेका छन्। 

“कहिलेकाहीँ एकै दिन सात वटासम्म पनि शल्यक्रिया गरेका छौँ,” उनले भने, “सुत्केरी सेवाका साथै पाठेघरको समस्याको उपचार, पाठेघर बाहिर निस्किएका वा संक्रमण भएकाको शल्यक्रिया, पाठेघरमा ट्युमर पलाएकाको उपचार गर्दै आएका छौँ।”