बाँसबारीको जग्गा राज्यका नाममा आउँछ: गृहमन्त्री

आफूले जुनसुकै ठूला प्रकरणमा ठूला मान्छेलाई समात्ने बित्तिकै दबाब र धम्की आउने गरेकाले नेपालमा राम्रो काम गर्न कठिन भएको गुनासो गृहमन्त्री श्रेष्ठको थियो। 

काठमाडौँ– उपप्रधान तथा गृहमन्त्री नारायण काजी श्रेष्ठले चौधरी ग्रुपले हडपेको तत्कालीन बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा राज्यका नाममा आउनेमा शंका नरहेको बताएका छन्। 

शनिबार ललितपुरको पाटनमा आयोजित ‘गृहमन्त्रीसँग समृद्धि र सुशासनका कुरा’ नामक अन्तरक्रियामा उनले  ब्युरोक्रेसीका उच्च तहका मान्छे र र पहुँचवालाले जे पनि गर्न सक्छन् भन्ने कुरालाई खण्डित गरेरै छाड्ने बताए।  

तत्कालीन बाँसबारी जुत्ता कारखानाको सरकारी जग्गा हडपेको प्रकरणमा व्यक्तिगत रूपमा कसैलाई केही नभन्ने उनले उल्लेख गरे। 

“बाँसबारीको जुत्ता कारखानाको प्रकरण हामीले कारबाहीको रूपमा प्रक्रिया अगाडि बढाएका छौँ। र मालपोतद्वारा त्यो जग्गा राज्यकै नाममा आउने कुरामा म विश्वस्त छु,” गृहमन्त्री श्रेष्ठले भने।

आर्थिक,सामाजिकलगायत हरेक क्षेत्रमा सुशासन स्थापित गर्न खोजिरहेको उल्लेख गरेका उनले नेपालमा राम्रो काम गर्न कठिन भएको बताए। आफूले जुनसुकै ठूला प्रकरणमा ठूला मान्छेलाई समात्ने बित्तिकै दबाब र धम्की आउने गुनासो गृहमन्त्री श्रेष्ठको थियो। 

“हरेक क्षेत्रमा सुशासन स्थापित गर्न खोजिँदै छ। तर, यहाँ दुर्भाग्य छ, दुःख नमान्नुहोला राम्रो काम गर्न बडो कठिन छ। तर पनि गर्नै पर्छ।”

बाँसबारीको १० रोपनी जग्गा चौधरी ग्रुपले हडपेको विषय उकालोले विस्तृत खोजमूलक रिपोर्टमार्फत उजागर गरेको थियो।