नेपालको बाह्य सम्बन्ध १८२ देशमा विस्तार

न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगमा शनिबार बिहान नेपाल र टोंगाका स्थायी प्रतिनिधिले कूटनीतिक सम्बन्ध स्थापना गर्नेसम्बन्धी दस्ताबेजमा हस्ताक्षर गरेका छन्।

काठमाडौँ– नेपालले टोंगा अधिराज्यसँग कूटनीतिक सम्बन्ध स्थापना गरेको छ। योसँगै नेपालको बाह्य सम्बन्ध १८२ देशमा विस्तार भएको छ। 

कूटनीतिक सम्बन्ध स्थापना गर्नेसम्बन्धी दस्ताबेजमा संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा र सोही विश्व संस्थाका निम्ति टोंगाका स्थायी प्रतिनिधि भिलिमी भ्याइंगा टोनेले हस्ताक्षर गरेका हुन्। 

नेपाल र टोंगाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको जानकारी राष्ट्रसंका महासचिव एन्टोनियो गुटरेसलाई प्रदान गरिने पत्रमा पनि उनीहरूले हस्ताक्षर गरेका छन्। 

न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगमा शनिबार बिहान आयोजित कार्यक्रममा दुवै देशका स्थायी प्रतिनिधिले उक्त दस्ताबेजमा हस्ताक्षर गरेको उक्त नियोगले जनाएको छ। 

त्यस अवसरमा दुवै देशका राजदूतले पारस्परिक सहयोग, द्विपक्षीय सम्बन्ध विस्तारका साथै क्षेत्रीय एवं अन्तर्राष्ट्रिय मञ्चमा सहयोग एवं साझेदारी प्रवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। 

टोंगाले १९९९ सेप्टेम्बर १४ मा संयुक्त राष्ट्रसंघको सदस्यता प्राप्त गरेको हो। नेपाल र टोंगा ग्रुप ७७ का सदस्य हुन्।