नेपालसँग नेदरल्यान्ड्स ६ विकेटले पराजित

त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत शनिबारको खेलमा नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गरेको छ।

तस्वीर : क्यान

काठमाडौँ– त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत शनिबारको खेलमा नेपालले नेदरल्यान्ड्सलाई पराजित गरेको छ। नेदरल्यान्ड्सलाई नेपालले ६ विकेटले पराजित गरेको हो। नेदरल्यान्ड्सले दिएको १२१ रनको लक्ष्य नेपालले २८ बल बाँकी छँदै ४ विकेटको क्षतिमा पूरा गर्‍यो।

नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४६ रन बनाए। उनले ३४ बलमा ३ चौका र १ छक्का प्रहार गरे।

त्यस्तै, गुल्सन झाले ३६ बलमा २ चौका १ छक्काको मद्दतमा ३८ रन बनाए। कुशल भुर्तेलले १२ रन बनाउँदा आशिफ शेखले ८ रन जोडे। त्यस्तै, दीपेन्द्रसिंह ऐरी ४ र कुशल मल्ल २ रनमा अविजित रहे। नेपालले ११ रन अतिरिक्त पायो।

यसअघि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको नेदरल्यान्ड्सले १९.३ ओभरमा सबै विकेट गुमाउँदै १२० बनायो।

नेदरल्यान्ड्सका लागि म्याक्स ओडोउडले २४ बलमा ४ चौका र १ छक्काको मद्दतले सर्वाधिक ३१ रन बनाए। यसैगरी, टिम भान डेर गुग्टेनले २४ रन जोड्दा रोलोफ भान डेर मार्वीले अविजित २३ तथा कप्तान स्कट एड्वार्डसले १८ रन बनाए।

नेपालका लागि प्रतिश जिसीले ३ विकेट लिए भने करण केसी र कुशल मल्लले समान २/२ विकेट लिए। त्यसैगरी, दीपेन्द्रसिंह ऐरीको नाममा १ विकेट रह्यो। 

जितसँगै नेपाल तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। पराजित भएको नेदरल्यान्ड्स भने पहिलो स्थानमै छ। नेपाल पहिलो खेलमा नामिबियासँग २० रन र दोस्रो खेलमा नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको थियो। तेस्रो खेलमा नेपालले नामिबियालाई ३ रनले पराजित गरेको थियो।