साफ यू१६ च्याम्पियनसिपमा नेपाल बांग्लादेशसँग पराजित

नेपालले घरेलु मैदानमा जारी साफ यू१६ महिला च्याम्पियनसिप प्रतियोगिताको पराजयबाट शुरूआत गरेको छ।

काठमाडौँ– नेपालले घरेलु मैदानमा जारी साफ यू१६ महिला च्याम्पियनसिप प्रतियोगिताको पराजयबाट शुरूआत गरेको छ।

चार राष्ट्र सम्मिलित साफ यू१६ नेपालमा शुक्रबारदेखि शुरू भएको थियो। उक्त प्रतियोगिताको दोस्रो खेलमा शनिबार नेपाल बांग्लादेशसँग २–० गोल अन्तरले पराजित भएको हो।

बांग्लादेशको जितमा सौरबी प्रीतिले दुई गोल गरिन्। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बांग्लादेशले पहिलो हाफमा नै दुई गोल गर्दै घरेलु टोलीलाई दबाबमा राखेको थियो। तर दोस्रो हाफमा भने दुवै तर्फबाट गोल हुन सकेन।

खेलको २४औँ मिनेटमा प्रीतिले गोल गर्दै अग्रता दिलाइन्। पेनाल्टी बक्समा प्राप्त बललाई उनले नेपालका दुई डिफेन्डरलाई छक्क्याउँदै गोल गरेका हुन्।

त्यसको पाँच मिनेटपछि बांग्लादेशले पेनाल्टीमार्फत अर्को गोल थप्यो। नेपालकी गोलकिपर झर्ना दुम्राकोटीलाई अल्पी अक्तरलाई लडाएपछि बांग्लादेशले पेनाल्टी पाएको थियो। सो अवसर सदुपयोग गर्दै प्रीतिले बांग्लादेशको अग्रता दोब्बर बनाइन्। त्यसपछि पहिलो हाफमा थप गोल हुन सकेन र घरेलु टोली २–० ले पछाडि पर्‍यो। 

दोस्रो हाफमा दुवै तर्फबाट प्रयास भए पनि गोल हुन सकेन र नेपालले हारबाट च्याम्पियनसिपको शुरूआत गर्‍यो। 

जितसँगै बांग्लादेशले पहिलो खेलबाट तीन अंक जोड्यो। समान खेलबाट भारतको पनि तीन अंक नै छ। भारतले पहिलो खेलमा भुटानमाथि ७–० को रबाफिलो जित निकालेको थियो।