तीन दशकभन्दा लामो समयपछि पुनः हाटबजार सञ्चालनपछि स्थानीय उत्पादनले बजार पाएका छन्। किसान आर्थिक रूपले सबल र आत्मनिर्भर मात्रै होइन मेहनती र उद्यमशील पनि बनेका छन्।
सिरहा– आफूले उत्पादन गरेको तरकारी बजारसम्म लगेर बिक्री वितरण गर्न लक्ष्मण महतोले सास्ती खेप्दै आएका थिए। लहान नगरपालिका–१६ तरेगणाका उनलाई गाउँबाट लहान बजारसम्म करिब १५ किलोमिटर हप्तामा दुई पटक धाउनु नियमित कर्मजस्तै बनेको थियो। अहिले भने आफ्नो उत्पादनलाई गाउँकै हाटबजारमा बेच्न पाएका छन्। गत माघ २८ गतेबाट नगरपालिकाले आइतबार र बिहीबार गरी हप्ताको दुई दिन गाउँमै कृषि हाटबजार सञ्चालन गरेपछि महतोजस्तै यहाँका अन्य व्यावसायिक किसान यतिबेला खुशी भएका छन्।
“हामीलाई लहान बजारसम्म तरकारी बोकेर धाउन सास्ती थियो। कहिले अटोरिक्सा नपाउने त कहिले के समस्या,” किसान महतोले भने, “यो हाटबजार सञ्चालनसँगै हाम्रो उत्पादन यही बिक्री वितरण गर्न पाएका छौँ। हामी उत्साहित भएका छौँ।”
स्थानीयका अनुसार २०४६/०४७ सम्म सोही स्थानमा ठूलो हाटबजार लाग्ने गरेको थियो। तरेगणा (गाईघाट)मा लाग्ने उक्त हटिया भर्नलाई उदयपुरको नेपालटारबाछ चुरेपहाड छिचोलेर स्थानीय उत्पादन आलु, काउली, रिठ्ठा, तेजपत्ता, सुन्तलालगायत तरकारी तथा फलफूल खरिद बिक्री गर्न मानिस आउने गर्थे। नेपालटार–गाईघाट सडक सञ्जालमा जोडिएको थिएन। सोही कारण नजिक पर्ने हटिया भएकाले मानिसका ताँती लागेर हटिया आउनेजाने गरेको स्थानीय १६ नं वडाका वडाध्यक्ष गडुलबहादुर जर्घामगरले बताए। उन अनुसार भारतबाट समेत भरिया लिएर व्यापारी त्यस हटियामा आउनेजाने गरेका थिए।
“त्यस समय म २०–२५ वर्षको थिएँ। त्यति ठूलो हाटबजार विविध कारण बन्द हुन पुग्यो। जनप्रतिनिधि हुनुका नाताले केही वर्ष पहिलेदेखि पटक–पटक हाटबजार सञ्चालन गर्न पहल गरेता पनि अहिले सफल भएका छौँ,” अध्यक्ष मगरले भने, “स्थानीय किसानको उत्पादन खपत अब यहीँ हुनेछ। साना किसानले पनि व्यावसायिक रूपमा तरकारी तथा फलफूल उब्जाउ गर्न यस हाटबजारले प्रोत्साहन दिनेछ भन्ने विश्वास लिएको छु।”
गाउँबाट ल्याइएका कृषि सामग्री खरिदबिक्रीले किसान तथा उपभोक्ताको सिधा सम्पर्क हुने र किसानले उचित मूल्य पाउने हुँदा यहाँका साना किसानको आर्थिक जीविकोपार्जनमा टेवा पुग्ने विश्वास अध्यक्ष मगरले गरे।
हाटबजार सञ्चालनमा आएपछि आफ्नो खाजा तथा किराना पसलमा चहलपहल पनि ह्वात्तै बढेर व्यापार वृद्धि भएको बताउँछन्, रक्टु साह। तर हाटबजार सञ्चालनपछि नगरपालिकाले खानेपानी र सार्वजनिक शौचालयको व्यवस्था नगरिदिएकामा उहाँको गुनासो छ। उक्त गुनासो सम्बोधन गर्न नगरपालिकासमक्ष पहल गरिएकाले चाँडै समाधान हुने आश्वासन पाएको वडा सदस्य राधेश्याम चौधरीले जानकारी दिए।
लोप भइसकेको हाटबजारलाई नगरपालिकाले पुनः सञ्चालन गरी किसान र उपभोक्ताबीच कृषि सामग्री खरिद–बिक्री गरी आर्थिक उपार्जन गर्ने उद्देश्यले हाटबजार सञ्चालनमा ल्याइएको नगरप्रमुख महेश चौधरीले बताए। नगरप्रमुख चौधरीले स्थानीय कृषिजन्य वस्तुको बजारीकरण गर्न हाटबजारले सघाउ पुर्याएकाले केही महिनाभित्रै नगरपालिकाको अन्य वडामा पनि थप हाटबजार सञ्चालन ल्याउन सम्भाव्यता अध्ययन भइरहेको जानकारी दिए।
तीन दशकभन्दा लामो समयपछि पुनः हाटबजार सञ्चालनपछि स्थानीय उत्पादनले बजार पाउँदा किसान आर्थिक रूपले सबल र आत्मनिर्भर मात्रै होइन उनीहरूलाई मेहनती र उद्यमशील पनि बनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
