हङकङमा हुने टी२० शृंखलाका लागि नेपाली टिम घोषणा, नयाँ खेलाडीलाई मौका

नेपाल, हङकङ र पपुवा न्युगिनीबीच मार्च ९ देखि १३ सम्म त्रिकोणात्मक टी२० आई सिरिज हुनेछ। नेपालले सिरिजको पहिलो खेल मार्च १० मा हङकङसँग खेल्नेछ। 

काठमाडौँ– हङकङमा हुने टी२० आई त्रिकोणात्मक सिरिजका लागि नेपाली टिम घोषणा भएको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार रोहित पौडेलको कप्तानीमा केही नयाँ खेलाडी समेटेर १४ सदस्यीय टोली घोषणा गरेको हो।

नेपाली टोलीमा विनोद भण्डारी, राशिद खान, विवेक यादव, आकाश चन्द र लोकेश बम समेटिएका छन्। आसिफ सेख, कुशल मल्ल, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, अनिल साह र ललितनारायण राजवंशीलाई भने यस पटक आराम दिइएको छ।

नेपाल, हङकङ र पपुवा न्युगिनीबीच मार्च ९ देखि १३ सम्म त्रिकोणात्मक टी२० आई सिरिज हुनेछ। नेपालले सिरिजको पहिलो खेल मार्च १० मा हङकङसँग खेल्नेछ। 

नेपाली टोलीमा रोहित पौडेल, कुशल भुर्तेल, विनोद भण्डारी, गुलशन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, राशिद खान, करण केसी, सागर ढकाल, प्रतिश जिसी, लोकेश बम, आकाश चन्द र अविनाश बोहरा रहेका छन्।