चराको नयाँ प्रजातिमा यस वर्ष ताल क्षेत्रमा लाल टाउके गरुड देखापरेको छ। चराको अनुसन्धान गर्नेका लागि यो तालको विशेष महत्त्व छ। ताल २९ बिघा क्षेत्रफलमा फैलिएको छ।
कञ्चनपुर– बेलौरी नगरपालिका–६ भुराकोटस्थित पुरैनी ताललाई स्थानीयले चराको स्वर्ग भन्ने गरेका छन्। ताल क्षेत्रमा सूर्योदय र सूर्यास्तका बेला चरा आकाशमा विभिन्न आकार बनाउँदै उड्दै गरेको दृश्य निकै मनमोहक हुन्छ।
ताल वरिपरिको सीमसार क्षेत्रमा आहार खोज्दै गरेका बथानका बथान चरा अवलोकनसँगै मोबाइलमा सेल्फी खिच्नेहरू पनि ताल क्षेत्रमा पुग्ने गर्छन्। तालमा डुबुल्की मार्दै आहारा खोज्दै गरेका चराको गतिविधि हेर्न लायक हुने गरेको छ। चराको अनुसन्धान गर्नेका लागि यो तालले विशेष महत्त्व राख्छ। ताल २९ बिघा क्षेत्रफलमा फैलिएको छ।
ताल क्षेत्रमा आगन्तुक चराहरू उत्तरी ध्रुवमा चिसो बढ्दै गएपछि घण्टाको उडान गरी हिमाल छिचोल्दै पुग्ने गर्दछन्। कात्तिक महिनादेखि नै प्रवासी चराको ताल क्षेत्रमा चहलपहल शुरू हुने गरेको स्थानीय बासिन्दा वीरबहादुर रावलले बताए।
“तालमा धेरै चराका प्रजाति पुसदेखि देखापर्ने गर्छन्,” उनले भने, “गर्मी हुने क्रमसँगै वैशाखदेखि प्रवासी चरा ताल छाडेर पुरानै वासस्थानमा फर्कने गर्छन्।” दशकअघि तालमा पानी बढी हुने हुँदा चराको संख्या पनि बढी हुने गरेको उल्लेख गर्दै उनले हाल तालमा पानी कम हुने भएकाले चरा पनि कमै देखिने गरेको बताए।
तालमा कुर्मा, बतख र गरुड प्रजातिका चरा बढी देखिने गरेको उनको भनाइ छ। उनका अनुसार ती चरासँगसँगै ताल क्षेत्रमा प्रवासी सिकारी चराको उपस्थिति पनि बाक्लो हुने गरेको छ। गर्मी शुरू भएपछि प्रवासी चरा फर्केर जाने गरे पनि रैथाने प्रजातिका चरा भने ताल क्षेत्रको सीमसार क्षेत्रमा वर्षभरि नै देखिने गरेको उनले बताए। पहिला आउने ठूला शरीर भएका चरा भने केही वर्षदेखि आएको नदेखिएको रावलले उल्लेख गरे।
चराविज्ञ हिरुलाल डगौराका अनुसार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सिकारी तालपछि सबैभन्दा बढी प्रजातिका प्रवासी चरा पुरैनी तालमा देखिने गरेका छन्। “यो ताल चराको स्वर्ग नै हो,” उनले भने, “संरक्षित क्षेत्र बाहिरको सबैभन्दा बढी चरा यहाँ पाइने गरेका छन्।” यस वर्षको जलपक्षी गणनाका क्रममा तालमा ५५ प्रजातिका चरा देखापरेको उनले जानकारी दिए। चराको नयाँ प्रजातिमा यस वर्ष ताल क्षेत्रमा लाल टाउके गरुड देखापरेको छ।
संकटापन्न सूचीमा रहेका मालक र नक्टा हाँसको संख्या ताल क्षेत्रमा सन्तोषजनक रहेको चराविज्ञ डगौराले बताए। “एकै तालमा यति धेरै चराको प्रजाति पाइनु यस क्षेत्रका लागि गर्वको कुरा हो,” उनले भने, “यस क्षेत्रलाई चरा पर्यटन क्षेत्रका रूपमा विकास गरिनुपर्छ।”
चरा पर्यटनलाई उच्चस्तरका रूपमा हेरिने भएकाले चरा अवलोकन गर्न आउने पर्यटक आर्थिक अवस्था राम्रो भएका हुने गरेको उनको भनाइ छ। “चरा हेर्नकै लागि पर्यटक तालसम्म पुग्ने गर्छन्,” उनले भने, “कुनैले सौखका लागि फोटो खिच्ने, कोही आत्मशान्तिका लागि चरा भएका क्षेत्रमा घुम्नका लागि पुग्ने गर्छन्।”
चरा पर्यटनको विकास गरिएमा डिप्रेसनमा गएका व्यक्तिलाई फाइदा पुग्नेसँगै वैज्ञानिक अनुसन्धान गर्न सहज हुने र नयाँ प्रजातिका चरा पत्ता लगाउन सहज हुने उनको भनाइ छ। “यसका लागि चराको वासस्थानमा खलल पुर्याउनु हुँदैन,” उनले भने, “सीमसार क्षेत्रको जैविक विविधता संरक्षणमा जोड दिइनुपर्छ, तालको पानीलाई एकनास बनाइराख्नका लागि संरक्षणका कार्यक्रम सञ्चालन गरिनुपर्छ।”
ताल क्षेत्रको जलकुम्भी हटाएर चरा बस्नका लागि आइल्यान्ड निर्माण गर्ने, समुदायस्तरमा चरा संरक्षण र वासस्थान सुरक्षाका लागि जनचेतना जगाउने कार्यमा स्थानीय सरकारले दत्तचित्त भएर लाग्नुपर्ने उनले उल्लेख गरे।
घोडाघोडी चरा अभय–आरण्यपछि हरिहाँसको संख्या पुरैनी तालमा अधिक देखिएको छ। सुदूरपश्चिम प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन एकाइ धनगढीका प्रमुख डबलबहादुर बोहराले सरकारले तीनवटा सर्किटमा गुरुयोजना बनाएर कार्य अगाडि बढाइरहेको बताए।
“कैलाली–कञ्चनपुर, पहाड र हिमाल गरी तीन सर्किटमा पर्यटकीय विकासका लागि कार्य भइरहेको छ,” उनले भने, “पर्यटकीय विकासमा तालतलैयासँगै जैविक विविधता संरक्षण, चराचुरुंगीको वासस्थान संरक्षणलाई उच्च महत्त्व दिइएको छ।”
चराचुरुंगी पर्यटन प्रवर्द्धनका माध्यमबाट विदेशी पर्यटकलाई आकर्षित गरी स्थानीयस्तरमा रोजगारीका अवसर सिर्जना गर्न सकिने उनले बताए। प्रदेशका नौवटै जिल्लामा चरा संरक्षण कार्यक्रम समावेश गरेर कार्यक्रम सञ्चालन भइरहेको उल्लेख गदै उनले पर्यटकीय पूर्वाधार निर्माण, वासस्थान संरक्षण, जलाधार क्षेत्र संरक्षणलगायतका कार्यक्रम अघि सारिएको बताए।
“इको टुरिज्मको मुख्य पाटो भनेकै चरा अवलोकन गर्नु हो,” उनले भने, “रैथाने प्रवासी चरा–मानव सम्बन्धलाई पर्यापर्यटनसँग जोड्नु आवश्यक छ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
