टीआरसी विधेयकमा असहमतिका चार बुँदाहरूमध्ये दुइटामा सहमति जुटेको छ भने बाँकी दुई बुँदाबारे सरसल्लाह गर्न कानूनमन्त्री गुरुङले समिति सभापतिसमक्ष समय माग गरेपछि विधेयक पारित हुन सकेन।
काठमाडौँ– संक्रमणकालीन न्यायसँग सम्बन्धित (टीआरसी) विधेयकमा दलहरूका बीचमा रहेका असहमतिका चार बुँदाहरूमध्ये दुइटा बुँदामा सहमति जुटेको छ। बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकमाथि उपसमितिले दलहरूबीच चार वटा बुँदामा सहमति जुट्न नसकेको उल्लेख गर्दै प्रतिवेदन पेश गरेको थियो।
सोही प्रतिवेदनसहितको छलफल गर्न आइतबार बसेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकले दुइटा बुँदामा सहमति जुटाएको हो। विधेयकमा मानव अधिकारको गम्भीर उल्लंघनमा समावेश गरिएको – स्वेच्छाचारी रूपमा क्रूरतापूर्वक (आर्बीट्ररी) गरिएको हत्या/दोहोरो भिडन्तबाहेक गरिएको हत्यामध्ये कुनलाई समावेश गर्ने भन्ने विषयमा सहमति जुट्न सकेको थिएन। त्यस्तै, सशस्त्र द्वन्द्वको क्रममा जोडिएका र प्रभावित भएका व्यक्तिहरूलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा पनि सहमति भएको थिएन।
त्यसैगरी, मानव अधिकारको उल्लंघनको घटनामा मेलमिलापका लागि पीडितको स्वतन्त्र सहमति नभएमा के गर्ने भन्ने विषय र घटी सजायका सम्बन्धमा आधार कारण खुलाएर सजाय कम गर्न सकिने व्यवस्था गर्ने वा प्रतिशत नै तोकेर जाने भन्ने विषयमा समेत सहमति जुटेको थिएन।
आइतबारको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सरकारका तर्फबाट विधेयकको मस्यौदा प्रस्तुत गरेका थिए। सो मस्यौदामाथि सांसदले आ–आफ्नो धारणा राखेसँगै दुइटा बुँदामा सहमति जुटेको मन्त्री गुरुङले बताए।
सहमतिअनुसार मानव अधिकारको गम्भीर उल्लंघन भन्नाले सशस्त्र द्वन्द्वको क्रममा द्वन्द्वरत पक्षले गरेको जबरजस्ती करणी वा गम्भीर यौनजन्य हिंसा, नियतवश स्वेच्छाचारी रूपमा गरिएको हत्या (आर्बिटरी किलिङ), व्यक्ति बेपत्ता पार्ने कार्य अथवा अमानवीय वा क्रूर यातनालाई बुझाइने भएको छ। पीडितले काबु बाहिरको अवस्था रहेको कारण खुलाएर तीन महिनासम्म उजुरी दिन सकिने कुरालाई पनि टुंग्याइएको छ।
त्यस्तै, सशस्त्र द्वन्द्वको क्रममा जोडिएका र प्रभावित भएका व्यक्तिहरूलाई समान रूपमा परिपूरणको व्यवस्था गर्ने पनि उल्लेख गरिएको छ। बैठकले मेलमिलापका लागि पीडितको स्वतन्त्र सहमति नभएमा के गर्ने भन्ने विषय र घटी सजायका सम्बन्धमा भने निष्कर्ष निकाल्न नसकेपछि आगामी बैठकमा पुनः छलफल हुने भएको छ।
कानूनमन्त्री गुरुङले सो विषयहरूमा थप छलफल आवश्यक रहेको भन्दै समिति सभापतिसमक्ष समय माग गरेपछि बैठकले विधेयक पारित नगरेको हो। “पीडितको स्वतन्त्र सहमति नभएमा के गर्ने भन्ने विषय र घटी सजायका सम्बन्धमा छलफल गर्न बाँकी रह्यो। यसले अलिकति समय माग्यो। फेरि सल्लाह गर्न थप समय चाहियो। सरकारका तर्फबाट सरसल्लाहलाई अलिकति समय माग गरिएको छ,” उनले भने।
मन्त्री गुरुङले समय माग गरेसँगै समिति सभापति विमला सुवेदीले आगामी बैठकमा कानून मन्त्रालय र समिति सचिवालयले सो विधेयकसम्बन्धी मस्यौदा प्रतिवेदन तयार गरी पेस गर्ने जानकारी गराए।
“बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयकमाथि उपसमितिको प्रतिवेदन र समितिको आजको बैठकमा भएको छलफलको आधारमा समितिको आगामी बैठकमा कानून मन्त्रालय र समिति सचिवालयले यस विधेयकसम्बन्धी मस्यौदा प्रतिवेदन तयार गरी पेस गर्ने र उक्त मस्यौदा प्रतिवेदनमाथि समितिले छलफल गरी पारित गर्ने जानकारी माननीय सदस्यहरूलाई गराउँदछु,” उनले भनिन्।
समितिको आगामी बैठक सूचना जारी गरेर बोलाइने समिति सभापति सुवेदीले जानकारी दिइन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
