काठमाडौँसहित देशभर वर्षा, सोमबारदेखि मौसममा सुधार हुने

प्रिमनसुनमा विशेष गरेर बिहानदेखि मध्याह्नसम्म घाम लाग्ने अपराह्नतिर बदली हुनाका साथै मेघगर्जन/चट्याङसहित वर्षा हुने मौसमविद् पुडासैनीको भनाइ छ।

काठमाडौँ– संघीय राजधानी काठमाडौँसहित देशभर प्रिमनसुन वर्षा भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार देशभर बदली रहनाका साथै देशका विभिन्न स्थानमा वर्षा भएको हो।

महाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार आइतबार कोशी प्रदेश र मधेश प्रदेशको पूर्वी भू–भागबाहेक देशभर वर्षा भएको छ। प्रिमनसुन शुरू भएपछि आइतबार पहिलोपटक काठमाडौँसहित देशभर वर्षा भएको हो।

“मार्च १ तारिखदेखि नै प्रिमनसुन शुरू भइसकेकाले यो प्रिमनसुन वर्षा हो। आज प्रिमनसुन गतिविधि पनि देखियो, चट्याङसहित वर्षा भएको छ,” उनले भने।

प्रिमनसुनमा विशेष गरेर बिहानदेखि मध्याह्नसम्म घाम लाग्ने अपराह्नतिर बदली हुनाका साथै मेघगर्जन/चट्याङसहित वर्षा हुने मौसमविद् पुडासैनीको भनाइ छ। मार्च, अप्रिल र मे महिनालाई प्रिमनसुन महिना मानिन्छ।

नेपालमा सामान्यतया: मनसुन भित्रिने समय जुन १० तारिख भए पनि कुनै वर्ष केही दिन ढिलो वा चाँडो मनसुन भित्रिने गरेको मौसमविद्को भनाइ छ। अघिल्लो वर्ष जुन १४ तारिखमा नेपालमा मनसुन भित्रिएको थियो।

महाशाखाका अनुसार बागमती प्रदेश, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षा भएको छ। आइतबार देशभरका धेरै स्टेसनहरूमा वर्षाको रेकर्ड भएको मौसमविद् पुडासैनीले बताए।

उनका अनुसार नेपालमा पश्चिमी वायुको प्रभाव पनि कायमै छ। सोमबारदेखि मौसममा क्रमिक सुधार हुनेछ। देशका पहाडी भेगका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरेको छ।