विशेष अदालतमा ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियारले घुस लिएको र आर्थिक अनियमितता गरेको अभियोगमा ११ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार छुट्टाछुट्टै घटनामा ११ जनाविरुद्ध विशेष अदालत, काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले नापी कार्यालय कलंकीमा कार्यरत सर्वेक्षकसहित दुई र धनुषा शहीदनगर नगरपालिकाले स्यानिटरी प्याड खरिद गर्दा अनियमितता गरेको भन्दै तत्कालीन नगरप्रमुखसहित नौ जना गरी ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।

नापी कार्यालय कलंकीमा कार्यरत सर्वेक्षक लक्ष्मीप्रसाद चौलागाई र राजधानी लेखापढी सेवामा काम गर्ने नेत्रबहादुर पोखरेलले जग्गा हाल साबिक एवं कित्ताकाट गरी पुर्जा उपलब्ध गराउने प्रयोजनका लागि सेवाग्राहीसँग एक लाख रुपैयाँ बराबरको घुस लिँदै गरेको बेला आयोगले पक्राउ गरेको थियो।

लेखापढी व्यवसायी पोखरेलले एक लाख रुपैयाँ घुस लिएको र त्यसमध्ये ५० हजार रुपैयाँ चौलागाईलाई बुझाएको आयोगले जनाएको छ। आयोगले उनीहरूविरुद्ध बिगोबमोजिम कारबाहीको माग गर्दै मुद्दा दायर गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।

यस्तै, आयोगले धनुषा शहीदनगर नगरपालिका आर्थिक वर्ष २०७७/७८ मा स्यानिटरी प्याड खरिद गर्दा सार्वजनिक खरिद ऐन नियमावलीको पालना नगरी खरिद गरेको तथा गुणस्तरयुक्त नभएको पाइएको भन्दै तत्कालीन नगर प्रमुख उदयकुमार यादवसहित ९ जनाविरुद्ध मुद्दा दायर गरेको छ।

आयोगले यादवसहित तत्कालीन नगर उपप्रमुख शिलादेवी कामपर, प्रमुख प्रशासकीय अधिकृत शत्रुध्न यादव, लेखापाल लोकबहादुर नेपाली, जिन्सी शाखा प्रमुख सुदीपकुमार भट्टराई, स्वास्थ्य संयोजक कपिलदेवप्रसाद अधिकारीविरुद्ध १३ लाख ९३ हजार ६८७ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरेको हो।

आयोगले शहीदनगर नगरपालिका धनुषाका तत्कालीन सब–इन्जिनियर सरोजकुमार महतो, रेजा ट्रेडिङ प्रालि धनुषाका प्रोप्राइटर अकवर मन्सुरविरुद्ध पनि १३ लाख ९३ हजार ६८७ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरिएको प्रवक्ता घिमिरेले जानकारी दिए।