हिमपातले उपल्लो मुस्ताङमा यातायात अवरुद्ध

हिमपातका कारण मुस्ताङको लोमान्थाङ, लोघेकर दामोदरकुण्ड र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा यातायात अवरुद्ध भएको छ।

फाइल तस्वीर

म्याग्दी– आइतबार बिहानदेखि परेको हिमपातका कारण मुस्ताङको लोमान्थाङ, लोघेकर दामोदरकुण्ड र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा यातायात सेवा ठप्प भएको छ। 

बेनी–जोमसोम–कोरला सडकको समरदेखि माथिल्लो क्षेत्रका सडकमा हिउँ जमेपछि यातायात अवरुद्ध बनेको नेचुङस्थित सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बीओपी)का प्रमुख भीमबहादुर क्षेत्रीले जानकारी दिए।

हिमपातपछि स्थानीय र पर्यटकको आवतजावत रोकिएको छ। चिसो बढेको छ। सर्वसाधारण घरबाहिर निस्कन सकेका छैनन्। घरभित्रै आगो तापेर बसेका छन्। खोला, धारामा पानी जमेको छ। डाँडापाखा सेताम्मे हिउँले छोपिएको छ। सडक, भवन, पुल, खानेपानी, सिँचाइलगायत विकास आयोजना निर्माण रोकिएको छ।

बिहानदेखि उपल्लो मुस्ताङमा अवरुद्ध बनेको विद्युत् र सञ्चार सेवा अपराह्नदेखि सञ्चालन भएको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी नर्बु गुरुङले बताए।

हिन्दु तथा बौद्ध धर्मावलम्बीहरूको साझा तीर्थस्थल मुक्तिनाथ क्षेत्रमा पनि हिउँ जमेको छ। जोमसोम–कागबेनी–मुक्तिनाथ सडकमा हिउँ जमेका कारण यातायात प्रभावित बनेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेले बताए।

हिमपात र वर्षाले हिउँदे तथा हिमाली फलफूल खेतीलाई फाइदा गरेको छ। हिउँले जमिनमा राखेको मल भिजाउन, सिँचाइका साथै स्याउ, ओखरको परागशेचन प्रक्रियाका लागि चिसो वातावरण बनाउन सहयोग गर्ने कृषि ज्ञान केन्द्र मुस्ताङका प्रमुख प्रकाश बस्ताकोटीले बताए।

“स्याउको परागशेचनका लागि एक हजार पाँच सय घण्टा सात डिग्रीभन्दा कम तापक्रम आवश्यक पर्छ,” उनले भने, “हिउँले सुक्खा भएको जमिनलाई भिजाउने र खेतबारीमा राखेको मलको पौष्टिक तत्त्व बिरुवाले उपभोग गर्न सहज हुन्छ।”