क्रिमियामाथि आक्रमण गरेका ३८ युक्रेनी ड्रोन खसालेको रुसको दाबी

युक्रेनले पश्चिमी देशहरूलाई हतियारको आपूर्ति बढाउन लगातार अपिल गरिरहेको बेला यो हमला भएको हो। 

रुसले आइतबार क्रिमियामाथि आक्रमण गरेका ३८ युक्रेनी ड्रोन खसालेको दाबी गरेको छ। एउटा भिडियो फुटेजले क्रिमियामा तेल डिपो नजिकै विस्फोट भएको देखाउँछ।

रुसी अधिकारीहरूले ३८ ड्रोन खसालेको बताएका छन्। जसका कारण रुस र क्रिमिया जोड्ने केर्च ब्रिज केही समयका लागि बन्द भएको थियो। युक्रेनले पश्चिमी देशहरूलाई हतियारको आपूर्ति बढाउन लगातार अपिल गरिरहेको बेला यो हमला भएको हो। हालै, रूसी सेनाले युक्रेनी मोर्चामा प्रगति गरेको छ र कीभले पश्चिमी हतियारहरूको सहयोगमा तिनीहरूलाई रोक्न प्रयास गरिरहेको छ। गत महिना मात्र रुसी सेनाले महत्त्वपूर्ण पूर्वी शहर अदिभका कब्जा गरेको थियो।

यद्यपि रुसले यस पछिल्लो ड्रोन आक्रमणबाट कुनै क्षति भएको स्वीकार गरेको छैन, तर प्रत्यक्षदर्शीहरूले विस्फोटका कारण झ्यालहरू हल्लिएको र कारको अलार्म बजेको बताएका छन्। युक्रेनी भूभागको रूपमा अन्तर्राष्ट्रियस्तरमा मान्यता पाएको क्रिमियामाथि अहिले रुसले कब्जा गरेको छ।

शनिबार, रुसले युक्रेनी शहर ओडेसाको आवासीय क्षेत्रमा ड्रोन आक्रमण गरेको थियो, जसमा १० जनाको मृत्यु भएको थियो। आइतबार रुसले दक्षिणी खेरसन क्षेत्रलाई निशाना बनाएको थियो।

युक्रेनी अधिकारीहरूका अनुसार आक्रमणमा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।