केही दिनअघि नगरपालिकाले नगरपालिकाभित्रका कृषक र होटल व्यवसायीसँग छलफल गरेर तरकारीको मूल्यसमेत निर्धारण गरेको थियो।
खोटाङ– हलेसी तुवाचुङ नगरपालिकाले वडा नं ७ महादेवस्थानस्थित त्रिधार्मिकस्थल हलेसी बजारमा कृषि मार्ट (बजार) सञ्चालनमा ल्याएको छ।
कृषकले उत्पादन गरेका कृषिउपज बजारीकरणको लागि नगरपालिकाले आइतबारदेखि औपचारिकरूपमा चिस्यान केन्द्रसहितको कृषि मार्ट सञ्चालनमा ल्याएको हो। सहज नेपाल संस्थाको प्राविधिक सहयोगमा निर्माण गरिएको भवन निजी संस्थालाई भाडामा दिएर कृषि मार्ट सञ्चालन गरिएको हो। गत आर्थिक वर्षमा विनियोजित रु १८ लाख ४४ हजार र चालु आव २०८०/०८१ मा विनियोजन गरिएको १९ लाख ९४ हजार ८३१ रुपैयाँ लगानीमा कृषि मार्ट र चिस्यान केन्द्र निर्माण गरिएको नगर प्रवक्ता एवं वडा नं ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिए। नगरपालिकाभित्रका कृषकले उत्पादन गरेका कृषिउपज कृषि मार्टमा लगेर बिक्री गर्ने छन्।
केही दिनअघि नगरपालिकाले नगरपालिकाभित्रका कृषक र होटल व्यवसायीसँग छलफल गरेर तरकारीको मूल्यसमेत निर्धारण गरेको थियो। सोही मूल्यअनुसार कृषकले उत्पादन गरेको कृषिउपज कृषि मार्टमा बिक्री हुने जनाइएको छ।
नगर प्रमुख विमला राई र उपप्रमुख रमेशकुमार राउतले ‘हलेसी कृषि मार्ट’को शुभारम्भ गरेका थिए। कृषकले उत्पादन गरेर ल्याएका कृषिउपज संकलन गरेर बिक्री गर्नसमेत शुरू गरिएको छ। कृषकले आलु, साग, धनिया, कोभी, मुलालगायतका तरकारी बिक्री गर्न कृषि मार्टमा ल्याएका थिए।
आफूले उत्पादन गरेर ल्याएको कृषिउपज एकै ठाउँमा बिक्री गर्न पाउँदा खुशी लाग्नुका साथै सहज भएको अगुवा कृषक अनिता राईले बताइन्। “अरु बेला आफूले उत्पादन गरेका कृषिउपज बोकेर सबै घर, होटलमा डुलेर कराउँदै बेच्नुपर्थ्यो। आज सहजै यहाँ एकै ठाउँमा बिक्री हुँदा धेरै खुशी लागेको छ,” उनले भनिन्।
नगरपालिकाले निर्धारण गरेको मूल्य आवश्यकता र समयको आधारमा परिवर्तन गर्दै जाने गरी हलेसी बजारमा कृषि मार्ट सञ्चालन गरिएको नगर प्रमुख राईले बताइन्। “त्रिधार्मिकस्थल हलेसी सबैको आस्थाको धरोहर हो। यहाँ हजारौँ मानिसको आवतजावत हुन्छ। यहाँ आउने पर्यटकलाई अर्गानिक खानेकुरा पुर्याउन सकिएको छैन। नगरपालिकाले यसतर्फ मध्यनजर गर्दै कृषि मार्ट सञ्चालनमा ल्याइएको छ,” उनी भन्छिन्, “मार्ट सञ्चालकले नगरपालिकाले तोकेको मूल्यमा कृषकबाट कृषिउपज खरिद गर्नुपर्छ। कृषकबाट खरिद गरिएको कृषिउपज मार्ट सञ्चालकले २० प्रतिशतसम्म मात्र नाफा लिएर बिक्री गर्छन्। विगतमा कृषिउपज बिक्री नहुने, उचित मूल्य नपाउने, बिक्री गर्न घरमा बोकेर डुलाउँदै जानुपर्ने कृषकको बाध्यता थियो। कृषि मार्ट र चिस्यान केन्द्र सञ्चालनमा आएसँगै कृषकको उक्त समस्या समाधान भएको छ।”
मध्यपहाडी लोकमार्गमा पर्ने त्रिधार्मिकस्थल हलेसीमा आगामी दिनमा दूध डेरीसमेत सञ्चालनको लागि तयारी गरिएको नगरपालिकाले जनाएको छ। दूध उत्पादनको लागि नगरपालिकाले भैंसी प्रवर्द्धन कार्यक्रम पनि सञ्चालन गरिरहेको छ।
हरेक दिन सयौँको संख्यामा धार्मिकस्थल हलेसीमा पर्यटक आउने गरेका छन्। जसकारण हलेसी क्षेत्रका होटल प्रायः सधैँ चलायमान हुन्छन्। तर, व्यवस्थापन हुन नसक्दा स्थानीयस्तरमा उत्पादन भएका कृषिउपज कुहिएर जाने र बाहिरबाट तरकारी भित्रिने गरेको थियो।
नगरपालिकाले कृषि मार्ट सञ्चालनमा ल्याएसँगै कृषकले उत्पादन गरेको सबै कृषिउपज बिक्री हुने विश्वास लिइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
