संघीय संसदका दुवै बैठक बस्दै, प्रधानमन्त्रीले जवाफ दिने

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले सांसदहरूले अघिल्ला बैठकहरूमा समसामयिक विषयमा उठाएका प्रश्नको जवाफ दिने भएका छन्।

काठमाडौँ– संघीय संसद्का दुवै सदनको बैठक सोमबार बस्दै छ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सांसदहरूले अघिल्ला बैठकहरूमा समसामयिक विषयमा उठाएका प्रश्नको जवाफ दिने भएका छन्।

यस्तै, प्रतिनिधिसभाको आजको बैठकमा महिला तथा सामाजिक मामिला समिति सभापति किरणकुमार साहले महिला तथा सामाजिक मामिला समितिको वार्षिक प्रतिवेदन २०७९/०८० पेश गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ। गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ। आर्थिक वर्ष २०८१/०८२ का लागि विनियोजन सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल आरम्भ गर्ने सम्भावित कार्यसूची पनि रहेको छ। 

यस्तै, राष्ट्रिय सभाको बैठक १ बजेर १७ मिनेटमा बस्ने तय भएको छ। राष्ट्रियसभामा आज प्रधानमन्त्री दाहालले लोकसेवा आयोगको ६४औँ वार्षिक प्रतिवेदन २०७९/०८० सभासमक्ष पेश गर्ने कार्यसूचीमा उल्लेख छ।