भारतीय नम्बर प्लेटको जिपले ठक्कर दिँदा २ जनाको मृत्यु, १ घाइते

ठक्कर दिएपछि जिप सडक छेउमा पल्टिएर दुर्घटना भएको र चालक फरार रहेका प्रहरीले जनाएको छ।

महोत्तरी– महोत्तरीको मटिहानी जनकपुर सडकखण्डमा भारतीय टाटासुमोले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

मृत्यु हुनेमा महोत्तरी पिपरा गाउँपालिका–५ का ६० वर्षीय अकबर राइन र धनुषा क्षिरेश्वरनाथ नगरपालिका–१ का ६० वर्षीय राजकिशोर यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए।

जनकपुरबाट मटिहानीतिर गइरहेको बीआर ०६ पीडी ३३३० नम्बरको टाटासुमोले गएराति पिपरा–१ स्थित सडकखण्डमा पिपराबाट मटिहानतिर जाँदै गरेको मधेश प्रदेश ०१ त ३००९ नम्बरको ट्र्याक्टरलाई ठक्कर दिएको थियो। ठक्करबाट ट्र्याक्टरमा पछाडि बसेका राइनको मृत्यु भएको थियो भने सोही क्रममा टाटासुमोले विपरीत दिशाबाट साइकलमा  आउँदै गरेका यावदलाई पनि ठक्कर दिएको थियो।

सोही टाटासुमोको ठक्करबाट ट्र्याक्टरमा सवार पिपरा–५ का ६० वर्षीय झप्सी कवाडी गम्भीर घाइते भएका छन्। उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको जनाइएको छ।  टाटासुमो पनि मटिहानी –४ स्थित सडक छेउमा पल्टिएर दुर्घटना भएको र चालक फरार रहेका बताइएको छ।