धरानमा बनेका खुकुरी नेपालमा मात्र होइन, अन्तर्राष्ट्रिय बजार अमेरिका, बेलायत, चीन, भारत, सिंगापुरलगायत देशमा पुग्ने गरेका छन्। त्यसबाट खुकुरी व्यवसायीले मासिक लाखौँ रुपैयाँ नेपाल भित्र्याइ रहेका छन्।
सुनसरी– एउटा उखान छ, ‘जहाँ गोर्खाली त्यहाँ खुकुरी, जहाँ खुकुरी त्यहाँ गोर्खाली।’ संसारमा नेपालीलाई चिनाउने ‘वीर गोर्खाली’ सँगै गोर्खाली हतियार ‘खुकुरी’ पनि हो। गोर्खाली र खुकुरी एक अर्काका परिपूरक हुन् भन्ने माथिको उखानबाट पनि बुझ्न सकिन्छ। अहिले यो खुकुरी गोर्खालीको पहिचान र सानमा मात्र सीमित छैन, यो एउटा गतिलो व्यापार पनि बनेको छ।
मुलुकमै सबैभन्दा धेरै खुकुरी उत्पादन लामो धरानमा समयदेखि हुने गरेको छ। धरानमा बनेका खुकुरी नेपालमा मात्र होइन, अन्तर्राष्ट्रिय बजार अमेरिका, बेलायत, चीन, भारत, सिंगापुरलगायत देशमा पुग्ने गरेका छन्। त्यसबाट खुकुरी व्यवसायीले मासिक लाखौँ रुपैयाँ नेपाल भित्र्याइ रहेका छन्।
धरानमा व्यावसायिक रूपमा खुकुरी उद्योग सञ्चालन गर्ने धेरै जना छन्। त्यसमध्येका एक हुन्, घमान सिंह विश्वकर्मा। वैदेशिक रोजगारीमा सात वर्ष बिताएपछि स्वदेशमै केही गर्ने सोचले फर्किएका विश्वकर्माले आफ्नै पुर्ख्यौली पेसालाई व्यावसायिक रूप दिने योजना बनाए। त्यसपछि करिब एक दशकअघि धरान–१५ मा सुस्मिता खुकुरी उद्योग खोखे। शुरूमा तीन लाख रुपैयाँ लगानी गरेर आफ्नै घरमा लघु उद्योग खोलेका विश्वकर्मा आफैँ खुकुरी बनाउँछन्। माग धेरै भएका बेला अन्य कालिगडलाई पनि लगाएर खुकुरी बनाउँछन्। उनका अनुसार धरान नेपालमै सबैभन्दा धेरै खुकुरी उत्पादन हुने ठाउँ हो। उनी भन्छन्, “यहाँ उत्पादन भएका खुकुरीहरू भारत, चीन, क्यानडा, सिंगापुर, दुबई, अमेरिकादेखि बेलायतसम्म पुग्छन्।”
धरानकै गोविन्द दर्नाल पनि विगत १२ वर्षदेखि धरान खुकुरी उद्योग सञ्चालन गर्दै आएका छन्। दर्नालका बाबु छोराले सञ्चालन गरेको खुकुरी उद्योगमा एक जना कालिगड पनि छन्। उनीहरूले उत्पादन गरेका खुकुरी पनि देशदेखि विदेशसम्म पुग्ने गरेका छन्।
घरेलु उद्योगका रूपमा मात्र होइन, ठूलो व्यवसायका रूपमा खुकुरी उद्योग सञ्चालन गर्नेहरू पनि धेरै जना छन् धरानमा। दुई दशकदेखि न्यु गोर्खाली खुकुरी इन्डस्ट्रिज सञ्चालन गर्दै आएका दीपक दर्नाल त्यसको एक उदाहरण हुन्। उनले अहिले ३० जना कालिगड राखेर उद्योग सञ्चालन गरिरहेका छन्। कोरोना महामारीभन्दा अगाडि उनको उद्योगमा ६० जना कालिगड थिए।
उद्योग सञ्चालक दर्नालका अनुसार पहिला विदेशमा निर्यात हुने खुकुरीमध्ये रुसमा झाडी फाँड्न, सिंगापुर र बेलायतमा सुरक्षागार्डले प्रयोग गर्नका लागि खुकुरीको माग हुने गरेको थियो। अहिले भने अन्तर्राष्ट्रिय बजारमा सामान्य गुणस्तरका खुकुरीको माग हुने गरेको छ। त्यसमध्ये सबैभन्दा बढी अमेरिका जाने गरेको उनी बताउँछन्। खुकुरी उद्योगबाट हाल मासिक ९० हजारदेखि एक लाख रुपैयाँसम्म आम्दानी हुने गरेको उनको भनाइ छ। “पहिला धेरै राम्रो थियो। अहिले बजार खस्किएको छ। बिस्तारै राम्रो होला भन्ने आशामा छौँ,” उनले भने।
उद्योग सञ्चालकहरूका अनुसार खुकुरीको मूल्य गुणस्तरअनुसार फरक हुन्छ। स्थानीय बजारमा सामान्य घरेलु प्रयोजनमा प्रयोग हुने खुकुरी तीन सयदेखि तीन हजारसम्ममा पाइन्छ। पछिल्लो समय नेपालमा भन्दा विदेशमा बढी खुकुरी निर्यात हुन थालेपछि बनावट र गुणस्तरमा परिवर्तन गरिएपछि डिजाइन गरिएको खुकुरीको मूल्य अहिले स्थानीय बजारमा पाँचदेखि सात हजार रुपैयाँसम्म पर्ने गरेको उद्योग सञ्चालक दर्नालको भनाइ छ।
उद्योग सञ्चालकहरूले उपलब्ध गराएको विवरणअनुसार धरानमा साना ठूला गरी ४० देखि ५० वटा खुकुरी उद्योग सञ्चालनमा छन्। ती उद्योगबाट दैनिक रूपमा ३०० वटा खुकुरी उत्पादन हुन्छ। सबै उद्योगबाट गरी धरानमा दैनिक सरदर सातदेखि १० लाखसम्म आम्दानी हुने गरेको खुकुरी व्यवसायीको भनाइ छ। उनीहरूका अनुसार हाल धरानमा खुकुरी बनाउने नेपाली कालिगड ५० देखि ६० जनाको हाराहारीमा छन्।
खुकुरीसँग खुकुरीको दाप बनाउनेहरूले पनि रोजगारी पाएका छन्। धरानमा खुकुरीको दाप बनाउने करिब २५ परिवार छन्। उनीहरूको यसैबाट जीवनयापन हुने गरेको उद्योग सञ्चालक विश्वकर्मा बताउँछन्। धरानमा उत्पादन हुने खुकुरीको मूल्य कम्तिमा दुई सयदेखि बढीमा १५ हजार रुपैयाँसम्म पर्छ।
खुकुरी उद्योग संघ, धरानका अध्यक्षसमेत रहेका न्यु गोर्खाली खुकुरी इन्डस्ट्रिजका सञ्चालक दीपक दर्नाल खुकुरी उद्योगबाट धेरै फाइदा लिन सरकारको सहयोग आवश्यक रहेको बताउँछन्। “अहिले अन्तर्राष्ट्रिय बजारबाट खुकुरीको माग धेरै भए पनि हामीले विदेश पठाउँदा धेरै कर लाग्ने भएकाले समस्या छ,” उनी भन्छन्, “नेपाल सरकारले करमा सहुलियत दिने व्यवस्था गरिदिए खुकुरी उद्योग सञ्चालन गर्नेहरूको हौसला बढ्ने थियो। उनीहरूले विदेशमा खुकुरी निर्यात गर्दा राज्यलाई नै आम्दानी बढ्ने थियो। सरकारलाई हाम्रो यही आग्रह छ।”
बजार खस्किएकोमा चिन्ता
कोरोना महामारीपछि समग्र बजारको अवस्था खस्किएको छ। खुकुरी व्यवसायमा पनि त्यसको असर पर्ने नै भयो। धरानका खुकुरी व्यवसायीका अनुसार विगतभन्दा खुकुरीको माग पनि घटेको छ। एकातिर खुकुरी बनाउने फलामको भाउ बढेको र अर्कातिर माग घटेकाले समस्या भएको सुस्मिता खुकुरी उद्योगका सञ्चालक घमानसिंह विश्वकर्मा बताउँछन्।
उनका अनुसार पहिला ७० देखि ८० रुपैयाँ प्रति केजीमा पाइने फलाम अहिले एक सयदेखि १२० रुपैयाँ प्रतिकेजी पर्छ। “महँगी बढेपछि पहिला जत्ति खुकुरी उत्पादन गर्न सकिएको छैन। बजार पनि खस्किएको छ,” उनी भन्छन्।
अहिले माग र उत्पादन बराबरी अवस्थामा रहेको व्यवसायी बताउँछन्। विगतमा हातले नै खुकुरी बनाउने सबै काम गर्नुपर्ने अवस्था थियो, अहिले भने प्रविधिको विकाससँगै मेसिनको प्रयोग पनि हुने गरेको छ। यसबाट केही सहज पनि भएको व्यवसायीको भनाइ छ।
आधुनिक प्रविधिलाई प्रयोग गरेर अझै खुकुरीको उत्पादन बढाउन र अन्तर्राष्ट्रिय बजारमा पठाउन सक्ने सम्भावना प्रशस्त रहेको व्यवसायी विश्वकर्माको भनाइ छ। “सरकारबाट सहयोग पाउने हो भने खुकुरी उद्योगहरू फस्टाउन सक्छन्, यसले नेपालीको सान र पहिचान संसारसामु फैलाउने मात्र होइन, विदेशी रुपैयाँ पनि राम्रोसँग आम्दानी गर्ने सम्भावना छ,” उनी भन्छन्।
संस्कृति र इतिहासमा खुकुरी
खुकुरीको सम्बन्ध नेपालका विभिन्न जातीको संस्कार संस्कृतिसँग पनि जोडिन्छ। खुकुरीलाई देवताको थानमा राखेर पुज्ने चलन विभिन्न समुदायमा पाइन्छ। दशैँ र विभिन्न चाडपर्वमा पनि हतियारका रूपमा खुकुरीको पूजा गर्ने प्रचलन छ। इतिहासमा पनि खुकुरीको उत्तिकै महत्त्व छ।
नेपालीलाई विश्वमा गोर्खालीका रूपमा परिचित गराउन खुकुरीले ठूलो भूमिका खेलेको इतिहास अध्ययनका क्रममा बुझ्न सकिन्छ। नेपालीलाई वीर जातिका रूपमा चिनाउने काममा खुकुरीको भूमिका छ। गोर्खाली सैनिकहरूले खुकुरीकै भरमा नेपालमा विभिन्न युद्ध लडेका थिए। त्यसबेलाको सैनिक हतियारमा खुकुरी र तरबार नै प्रमुख थिए।
अहिले पनि प्रहरी, सैनिकलगायत सुरक्षाकर्मीहरूले कम्मरमा खुकुरी भिर्ने चलन छ भने सुरक्षाकर्मीका पोसाकमा पनि खुकुरी चिह्न अंकीत गर्ने गरिएको छ। त्यसबाहेक सुरक्षासँग सम्बन्धित तक्मा, पुरस्कारमा पनि खुकुरीको चिह्न प्रयोग गर्ने गरिएको छ। यसरी नेपालीको संस्कृति र इतिहासमा गहिरो प्रभाव पारेको खुकुरीले पछिल्लो समय व्यापारमा पनि राम्रो प्रभाव जमाउँदै गरेको देखिन्छ।
खुकुरी जस्ता हतियार बनाउने काम विश्वकर्मा समुदायको पुर्ख्यौली पेसाका रूपमा चिनिन्छ। दलित समुदायका पुर्ख्यौली पेसाहरू संकटमा पर्दै गएको बेला खुकुरी बनाउने पेसामा भने युवा पुस्ताको पनि आकर्षण देखिएको छ। धरानका उद्योगहरूमा खुकुरी बनाउने अधिकांश युवा पुस्ताका छन्। खुकुरी व्यवसाय युवा पुस्ताको रोजगारीको राम्रो अवसर पनि बनिरहेको छ।
विश्व बजारमा माग बढिरहेको खुकुरी व्यवसायलाई वृद्धि गर्न स्थानीय तह र प्रदेश सरकारले पनि नीतिगत रूपमा काम गर्नुपर्ने खुकुरी उद्योग संघका अध्यक्ष दर्नालको भनाइ छ। “स्थानीय तह र प्रदेश सरकारले हाम्रो पुर्ख्यौली पेसा बचाउने सहयोग गरिदिए, अझै धेरै रोजगारी पनि सिर्जना हुन्थ्यो, राज्यलाई पनि फाइदा पुग्थ्यो,” उनी भन्छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
