साफ यू१६ : भुटानविरुद्ध नेपाल विजयी

साफ यू१६ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत सोमबारको खेलमा नेपालले भुटानलाई ३–० गोल अन्तरले पराजित गरेको छ।

काठमाडौँ– साफ यू१६ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले भुटानलाई पराजित गरेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार सम्पन्न खेलमा नेपालले भुटानलाई ३–० गोल अन्तरले पराजित गरेको हो।

नेपालका लागि पूजा गिरी, भूमिका बुढाथोकी र ग्यान्सु डोल्मा लोले समान १–१ गोल गरे। खेलको १४औँ मिनेटमा पूजाको गोलमार्फत नेपालले पहिलो अग्रता लियो। पूजाले गोल गरेको चार मिनेटपछि कप्तान भूमिकाले गोल गर्दै नेपालको अग्रता दोब्बर बनाइन्।

खेलको ३१औँ मिनेटमा ग्यान्सुले एक गोल थपिन्। त्यसपछि खेलमा गोल हुन सकेन र नेपालले भुटानमाथि सहज जित निकाल्यो। जितसँगै नेपालले प्रतियोगितामा पहिलो जित हासिल गरेको थियो।

नेपाल पहिलो खेलमा बांग्लादेशसँग २–० ले पराजित भएको थियो । यससँगै नेपालले प्रतियोगितामा तीन अंक बटुलेको छ। अब नेपालले यही फागुन २४ गते भारतसँग खेल्नेछ।