चार दलीय गठबन्धनमा राष्ट्रियसभा अध्यक्ष माओवादी र उपाध्यक्ष एमालेले लिने सहमति

नेकपा एमालेसहित चार दल सम्मिलित गठबन्धनका बीचमा रिक्त रहेको राष्ट्रियसभाको अध्यक्ष र उपाध्यक्ष पदको भागबन्डासहित आठबुँदे सहमति भएको छ। 

काठमाडौँ– नेकपा एमालेसहित चार दल सम्मिलित गठबन्धनका बीचमा रिक्त रहेको राष्ट्रियसभाको अध्यक्ष र उपाध्यक्ष पदको भागबन्डासहित आठबुँदे सहमति भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार नेपाली कांग्रेससहितका दलको गठबन्धन तोड्दै नेकपा एमालेसहित चार दलीय गठबन्धन बनाउँदै मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए। 

प्रधानमन्त्री दाहालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का डोलप्रसाद अर्याल, नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ र नेकपा एमालेका पदम गिरीलाई मन्त्री बनाएका हुन्। उनीहरूलाई सोमबार राष्ट्रपति कार्यालय शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ गराएका थिए।

सोमबार साँझ सार्वजनिक भएको चार दलीय गठबन्धनको सहमतिपत्रमा राष्ट्रियसभाको अध्यक्ष नेकपा माओवादी केन्द्र र उपाध्यक्षमा एमालेले उम्मेदवार उठाउने भनिएको छ। सहमति पत्रमा एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरेका छन्।

त्यस्तै, संक्रमणकालीन न्यायसम्बन्धी विधेयक, शान्तिप्रक्रिया‍ र देशमा स्थायी शान्ति कायम गर्नका लागि यससँग सम्बन्धित विषयहरू सहमतिका आधारमा टुंग्याउने, आपसी सहमतिमा मन्त्रालयको बाँडफाँट गर्ने, सरकारको नेतृत्व माओवादी केन्द्रका अध्यक्ष दाहालले गर्ने सहमतिमा उल्लेख छ। गठबन्धनले सरकारको नीति तथा कार्यक्रमलाई मार्गदर्शन गर्ने गरी सरकारमा सहभागी दलहरूका बीच साझा न्यूनतम कार्यक्रम तयार गर्ने भएको छ।

सहमतिमा चार दलबीच जनचाहनाअनुरूप सुशासन, विकास र सामाजिक न्यायका आकांक्षा पूरा गर्न, राष्ट्रिय हित र सरोकारलाई प्राथमिकतामा राखेर सन्तुलित र फराकिलो अन्तर्राष्ट्रिय सम्बन्धको विकास तथा नेपालको संविधानको मर्म र भावनाअनुरूप संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै समृद्धिको दिशामा प्रभावकारी ढंगले अघि बढ्न सहमत भएको पनि उल्लेख छ।