बजेट अभावले रोकियो हेटौँडा बजारमा सडक विस्तार

सडक डिभिजन कार्यालय हेटौँडाले अर्थ मन्त्रालयसँग हेटौँडा बजारको सडक बिस्तार, खानेपानी पाइप, विद्युत् पोल र ढल व्यवस्थापन तथा ग्राभेलका लागि १२ करोड बजेट माग गरेको छ।

मकवानपुर– हेटौँडा बजारको सडक बिस्तारको विषय लामो समयदेखि चर्चामा छ। संघीय सरकारअन्तर्गत सडक डिभिजन कार्यालय हेटौँडाले पटक–पटक सडक सूचना जारी गरे पनि सडक बिस्तार गर्न सकेको छैन।

अदालतमा परेको रिट निवेदनपछि सडक बिस्तार कार्य केही समय स्थगित भए पनि सर्वोच्च अदालतले सबै रिट निवेदन खारेज गरिसकेको छ। तर, मुख्य समस्याका रूपमा देखिएको छ बजेट अभाव। 

सडक डिभिजन कार्यालय हेटौँडाका प्रमुख राजेशकुमार यादवले सडक बिस्तारका लागि बजेट नै नरहेको बताए। उनले थप बजेट प्राप्त नहुँदासम्म सडक बिस्तारको काम अगाडि बढ्न नसक्ने स्पष्ट पारे।

सडक डिभिजन कार्यालय हेटौँडाले अर्थ मन्त्रालयसँग हेटौँडा बजारको सडक बिस्तार, खानेपानी पाइप, विद्युत् पोल र ढल व्यवस्थापन तथा ग्राभेलका लागि १२ करोड बजेट माग गरेको छ। कार्यालयसँग आवश्यक बजेट नभएकाले संघीय सरकारको अर्थ मन्त्रालयमा पत्राचार गरी बजेट माग गरिएको हो। हालसम्म मन्त्रालयबाट बजेट प्राप्त भइसकेको छैन। तर, सकारात्मक प्रतिक्रिया आएको कार्यालय प्रमुख यादवले बताए। 

अदालतको आदेशअनुसार २५ गजभित्रका घरका लागि मानवीय दृष्टिले उचित रकम प्रदान गर्नुपर्ने छ। मानवीय दृष्टिमा वृद्ध, अपांगता भएका र एकल महिला भएका घरलाई व्यवस्था गर्नुपर्ने आदेश पनि अदालतले दिएको यादवले बताएका छन्। उनले स्थानीय सरकारले पत्राचार नगरुन्जेल उक्त कार्य सम्पन्न नहुने बताए।

सडक बिस्तारका लागि २५ गजको अतिरिक्त थप सात फिट जग्गा अतिक्रमण गर्नुपर्नेछ। मुआब्जा निर्धारणका लागि नापी कार्यालयबाट तथ्यांक संकलन गरी मूल्य निर्धारण गरिनेछ। “जग्गा छुट्याउने काम लागि नापी कार्यालयलाई पत्राचार गरिसकेका छौं। हाम्रो टिम र नापी कार्यालयको टिम भएर तथ्यांक संकलन गर्छौ,” प्रमुख यादवले भने। 

मूल्य निर्धारणपछि मुआब्जासम्बन्धी सूचना जारी गरिनेछ। बजेट प्राप्त भएपछि २५ गजको काम शुरू हुनेछ भने सात फिटको सम्बन्धित काम पनि सँगै हुनेछ।

सडक बिस्तार विषयलाई लिएर उपमहानगर प्रमुख मिनाकुमारी लामा, प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईं र प्रमुख यादवविरुद्ध पनि अदालतमा मानहानिको मुद्दा दायर भएको छ। उक्त मुद्दामा चैत २८ गतेका लागि पेशी तोकिएको छ। मुद्दाको फैसला नहुँदासम्म सडक विस्तार कार्य अगाडि बढ्न नसक्ने तर सम्बन्धित प्रक्रिया भने अगाडि बढिरहने जानकारी सडक डिभिजन प्रमुख यादवले दिए।

मकवानपुरको हेटौँडा उपमहानगरको मुख्य सहरी क्षेत्रमा रहेको एसियन हाइवेअन्तर्गत रातमाटेदेखि चौकीटोलमा र बुद्धचोकदेखि राप्तीपुलसम्म बाटो राष्ट्रिय राजमार्गका करिब आठ किमी सडक शहरी मार्ग बनाउन धेरै पटक सरोकारवाला निकायले कोसिस गरिरहेका छन्। शहरी सडकमा रूपान्तरण गर्ने क्रममा सयौँ घर भत्किने तथ्यांक छ।

रातमाटेदेखि राप्तीपुलसम्म करिब ८ किलोमिटर लामो राजमार्गको दायाँबायाँ २५/२५ गज सडक बिस्तार गर्दा ५३१ वटा घर पर्छन्। रातोमाटेदेखि राप्तीपुलसम्म सडकको दायाँतर्फ २ सय ३४ र बायाँतर्फ २ सय ९७ गरी जम्मा ५ सय ३१ घर भत्किनेछन्। 

रातोमाटे–हनुमानगेट खण्डमा ११५ घर, हनुमानगेट–कर्रापुल खण्डमा १२२ घर, कर्रापुल–बुद्धचोक खण्डमा करिब २०० भन्दा घर प्रभावित हुनेछन्।