सुनको मूल्य हालसम्मकै उच्च

मंगलबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख २३ हजार रुपैयाँ निर्धारण गरिएको छ। अघिल्लो दिन प्रतितोला एक लाख २१ हजारमा कारोबार भएको सुन दुई हजारले बढेर नयाँ बिन्दुमा पुगेको हो।  

काठमाडौँ– नेपाली सुनचाँदी बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। 

सुनचाँदी बजारमा मंगलबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख २३ हजार निर्धारण गरिएको छ। अघिल्लो दिन प्रतितोला एक लाख २१ हजार रुपैयाँमा कारोबार भएको सुन प्रतितोला दुई हजारले बढेर नयाँ बिन्दुमा पुगेको हो।  

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार तेजाबी सुनको मूल्य प्रतितोला एक लाख २२ हजार ४०० रुपैयाँ कायम भएको छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला एक लाख २० हजार ४०० थियो।   

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला ३५ रुपैयाँले बढेर एक हजार ४४५ तोकिएको महासंघले जनाएको छ। 

यसअघि गत पुस १२ गते प्रतितोला एक लाख २२ हजारको उच्च दरमा छापावाल सुन कारोबार भएको थियो। त्यसपछि केही समय सामान्य रही फागुन २ गते एक लाख १६ हजार ५०० सम्म आएको सुनको मूल्य त्यसयता उतारचढाव हुँदै उच्च बनेको हो। 

महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका तुलनामा यहाँ दैनिक  कारोबार मूल्य तोक्दै आएको छ। अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस दुई हजार ११५ डलरमा कारोबार भइरहेको छ।