माओवादीबाट गण्डकी सरकारमा सहभागी मन्त्रीलाई मुख्यमन्त्रीले हटाए

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले माओवादी केन्द्रबाट सरकारमा सहभागी दुई मन्त्रीलाई पदमुक्त गर्दै उनीहरूले सम्हाल्दै आएका मन्त्रालय आफैँ मातहत राखेका छन्।

गण्डकी– गण्डकी प्रदेश सरकारका दुई मन्त्री बर्खास्त भएका छन्। मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेकपा माओवादी केन्द्रबाट सरकारमा सहभागी सामाजिक विकासमन्त्री सुशील सिम्खडा र भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीलाई बर्खास्त गरेका हुन्।

उनीहरूले सम्हाल्दै आएका मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री पाण्डेले आफैँ मातहत राखेका छन्। प्रदेश प्रमुखको कार्यालयले  जारी गरेको विज्ञप्तिमा मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नेपालको संविधानको धारा, १६८ को उपधारा ९ अनुसार मन्त्रिपरिषद्को गठन गरी कार्यविभाजन गरेको जनाइएको छ।

सूचना अधिकारी प्रमिला गौतमले जारी गरेको विज्ञप्तिमा कार्यविभाजनअनुसार मुख्यमन्त्री पाण्डेलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी तोकिएको छ। 

सरस्वती अर्याल (तिवारी)लाई ऊर्जा, जलस्रोत, तथा खानेपानी मन्त्रालय, महेन्द्रध्वज जिसीलाई कृषि तथा भूमि व्यवस्था मन्त्रालय, जितप्रकाश आले मगरलाई आर्थिक मामिला मन्त्रालय र दीपेन्द्रबहादुर थापालाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको मन्त्रीको जिम्मेवारी तोकिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।

केन्द्रमा सत्ता समीकरण परिवर्तन भएसँगै त्यसको असर प्रदेशमा देखिन थालेको हो। केन्द्रमा यसअघि नेपाली कांग्रेस, माओवादी केन्द्रसहितको सत्ता समीकरण फेरिएर सोमबार माओवादी केन्द्र, नेकपा एमालेसहितको गठबन्धन भई सानो आकारको मन्त्रिमण्डल गठन भइसकेको छ।