नेदरल्यान्ड्सले जित्यो त्रिकोणात्मक टी२० शृंखला

नेपाललाई ४ विकेटले पराजित गर्दै नेदरल्यान्ड्सले त्रिकोणात्मक टी२० शृंखला जितेको छ।

काठमाडौँ– नेदरल्यान्ड्सले त्रिकोणात्मक टी२० शृंखला जितेको छ।

मंगलबार भएको फाइनल खेलमा नेपाललाई ४ विकेटले पराजित गर्दै नेदरल्यान्ड्सले शृंखला आफ्नो पोल्टोमा पारेको हो। नेपालले दिएको १८५ रनको लक्ष्य नेदरल्यान्ड्सले ६ विकेटको क्षतिमा १९.३ ओभरमा पूरा गर्‍यो।

नेदरल्यान्ड्सका लागि माइकल लेविटले सर्वाधिक ५४ रन बनाए। उनले २९ बलमा ६ चौका र ३ छक्का प्रहार गरे। 

त्यस्तै, साइब्रान्ड एंगेलब्रेक्टले ४८, विक्रमजीत सिंहले २९ र म्याक्स ओ'डाडले २२ र टिम वान डेर गुग्टेन २१ रन जोडे।

नेपालका लागि कुशल मल्लले ४ विकेट लिए। अविनाश बोहरा र दीपेन्द्रसिंह ऐरीका नाममा १/१ विकेट रह्यो।

त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १८४ रन बनाएको थियो।

नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ४७ रन बनाए। उनले ३७ बलमा १ चौका र ३ छक्का प्रहार गरे। गुलशन झाले २५ बलमा ३ छक्कासहित ३४ रन जोडे।

कुशल मल्ल ११ बलमा ३ छक्कासहित २६ रन जोड्दै आउट भए। कुशल भुर्तेलले १० बलमा १ चौका र २ छक्कासहित २० रन बनाए। कप्तान रोहित पौडेलले १९ बलमा ३ चौका र १ छक्कासहित २५ रन बनाए।

नेदरल्यान्ड्सका फर्द क्लासेन, टिम भान डर गुगटेन, माइकल लेभिट र स्याब्रान्ड एंगेलब्रेक्टको नाममा समान २/२ विकेट रह्यो।