मेरो एक साथी उमेरअनुसार वक्षस्थल विकास हुँदै गर्दा झुकेर हिँड्न थाली। यो कस्तो बाध्यता, आफ्नो शरीरमा भएको स्वाभाविक जैविक विकासलाई किशोरी उत्सवको रूपमा लिन सक्दिन?
हामी सबैले सुन्दै आएको हो ‘कि पढेर जानिन्छ कि परेर।’ तर नेपाली बौद्धिकवृत्तमा व्यक्तिगत अनुभव, त्यो पनि महिलाको जीवन–अनुभवलाई ज्ञानका रूपमा सहजै स्वीकार गरिँदैन। यसको विस्तृत अध्ययनका लागि हाम्रो समाजमा ज्ञानलाई हेर्ने दृष्टिकोण र ज्ञानको वैधानिकता स्थापित हुने माध्यम र प्रक्रियामा बहस गर्नु जरुरी हुन्छ। यी हरफहरू लेखिरहँदा मित्र अमिना सिंहलाई सम्झिन्छु। उनी ‘विकासे संस्थाहरू’मा परामर्शदाताको काम गर्ने क्रममा नारी सशक्तीकरणको एउटा परियोजनाको प्रभावकारिता अनुगमन गर्दै थिइन्।
विकासे संस्थाका अधिकारीहरूको गुनासो रहेछ, ‘यी गाउँका महिलाहरूलाई जति तालिम दिए पनि हुँदैन, सिक्ने होइनन्।’ यी ‘गुनासाहरू’ उनको मनमा यसरी गढ्यो, उनले यही विषयमा विद्यावारिधि गरिन्। अनुसन्धानका क्रममा यस्ता महिलाहरूको जीवन–अनुभवको विश्लेषण गरिन्, जसले आफ्नो जीवनमा आमूल परिवर्तन महसुस गरेका छन्। ‘औपचारिक शिक्षा वा तालिमभन्दा जीवन–अनुभव नै व्यक्तिगत रूपान्तरणको प्रमुख उत्प्रेरक हो,’ उनको अनुसन्धानको निष्कर्ष रह्यो।
म समाज विज्ञानको विद्यार्थी, मलाई लाग्छ कि व्यक्तिको जीवन–अनुभव धेरै हदसम्म ऊ बस्ने समाज, बाँचेको समय र परिवेशले निर्धारण गर्छ। तर एउटै समाज र समयमा हुर्केकाहरूको अनुभव फरक किन हुन्छ त? निश्चय पनि हामी जन्मेको र हुर्केको समय, स्थान र परिवेशले अनुभवको एउटा निश्चित दायरा निर्माण गर्छ। तर त्यो दायराभित्र कति हदसम्म सीमित हुने वा कति हदसम्म बाहिर जाने भन्ने कुरा परिवार र केही हदसम्म व्यक्ति स्वयंमा भर पर्ने कुरा हो। नेपालमा अक्सर जीवनी 'सफल व्यक्ति'हरूले लेख्छन्। त्यो सफलताको विन्दुसम्म कसरी पुगेँ भन्ने कुरा उनीहरू आफ्नो किताबमा व्याख्या गर्छन्। यो लेखमा म आफ्नो जीवन–अनुभव केलाउँदै छु। जीवनको चौथो दशकको लगभग बीचतिर हिँडिरहँदा, म लगभग आफ्नो पेसामा स्थापित छु। एक छोरी, श्रीमती र आमाको भूमिका पनि सँगसँगै निर्वाह गरिरहेको छु। यो लेखलाई आत्मसमीक्षाका रूपमा पाठकले पढ्नुहोला भन्ने आशा गरेको छु।
म आफ्ना ‘प्रिभलेज’लाई स्वीकार गर्छु, मध्यमवर्गीय ब्राह्मण परिवारमा हुर्किएकी काठमाडौँवासी जो परेँ। मेरो समकक्षमा पुगेका दलित, जनजाति, अपांगता भएका साथीहरूको जीवन–अनुभव मेरोभन्दा कैयौँ गुना संघर्षमय छ। मैले बाल्यकालमा शारीरिक कष्ट र आर्थिक अभाव झेल्नु परेन। गाउँमा जन्मिए पनि काठमाडौँमा हुर्किएँ। गाउँमै हुर्केका साथीहरूको जीवन–अनुभव सुन्दा ईर्ष्या लाग्छ। उनीहरू सगर्व सुनाउँछन्, "गाउँमा घाँस काट्दै भेडा–बाख्रा चराउँदै दुःखमा हुर्केको हुँ।" हाम्रो समाजमा दुःख भन्नेबित्तिकै शारीरिक कठिनाइ र आर्थिक अभावलाई मानिन्छ। यसैलाई सत्य मान्ने हो भने आफ्नो बाल्यकाललाई दुःखमुक्त नै मान्नुपर्ला। तर मानसिक दुःख र संर्घषबीचको बाल्यकालको अनुभव र त्यसले पार्ने दूरगामी असर छुट्टै बहसको विषय बन्ला।
ती हजुरआमा– हजुरबुवा पुस्ता र आमा–बुवा पुस्ताप्रति धन्य हुनै पर्छ, जसको संघर्षको फल म आज पाइरहेको छु। म जन्मेको समय, छोरीलाई नपढाई हुन्न भन्ने मान्यता स्वीकृत भइसकेको समय थियो। म पढेको विद्यालयको संस्थापक सदस्य अंगुरबाबा जोशी नेपालको पहिलो महिला कलेजको पहिलो प्रिन्सिपल, नारीवाद र अध्यात्मबीचको संगममा बाँच्ने प्रेरणादायी व्यक्तित्व हुनुहुन्थ्यो। हरेक मन्तव्यमा "छोरालाई पढाए उ मात्र शिक्षित हुन्छ, छोरीलाई पढाए अर्को पुस्ता शिक्षित बन्छ" भन्न छुटाउनु हुन्थेन। महिलाको प्रमुख कर्तव्य घरपरिवार नै मानिँदै गर्दा पनि पढेर एउटा जागिरसम्म खाने बनाउनुपर्छ भन्ने मान्यता बिस्तारै स्थापित हुँदै गएको समय थियो।
लडाइँ र त्रास
जनमत संग्रह भएको सालमा जन्मिएर प्रजातन्त्रको कालखण्डमा हुर्किँदा अघिल्ला पुस्ताले गरेको राजनीतिक र सामाजिक संघर्षको प्रतिफल भोग्न पाउने भाग्यमानीमा दरिएकी छु। यिनै परिवेशले सायद मेरो भविष्यलाई लिएर अभिभावकले एक खालको मार्गचित्र बनाउनुभएको थियो। पाँचै वर्षको उमेरमा छात्रावासमा राखियो, तत्कालै हार्मोनियम र शास्त्रीय संगीतको तालिम पनि शुरू भयो। कुनै पनि पाँच वर्षको बच्चा बुवाआमाभन्दा टाढा बस्दा खुशी हुन नसक्ने भएको हुँदा छात्रावासको बसाइँ आफैँमा मधुर सम्झना होइन।
छात्रावासमा शुरूशुरूमा साथी बनाउन गाह्रो भएको थियो। केही साथीबाट हेपाइको महसुस भयो। मेरो लुगा र बोलीचालीले मेरो निम्न मध्यमवर्गीय परिवारको प्रतिनिधित्व गर्थ्यो, सायद। तर ‘गरेर देखाउने’ ईख पैदा गरिदिएकोले हेपाइले फाइदै गर्यो। पढाइमा मिहिनेत गर्न र अतिरिक्त क्रियाकलापमा सक्रिय हुन उत्प्रेरित गर्यो। हरेक कक्षामा केटाहरूको बाहुल्य हुने अवस्थामा केटाभन्दा कम हुनुहुन्न भन्ने दृढताको विकास भयो। लवाईखवाइदेखि बानीबेहोरमा केटाजस्तै हुन खोज्दा खिसीको पात्र पनि भइयो। केटाजस्तो प्राज्ञिक उन्नति, बौद्धिक विकास पनि गर्नुपर्ने, तर केटाजस्तो निर्भीक बोल्न, हाँस्न अनि हिँड्नचाहिँ नपाइने? यस्तो दुबिधामा पनि पर्थेँ।
सायद ११ वर्षकी हुँदा केटा साथीसँग भनाभनबाट शुरू भएको झगडाले कुस्तीको रूप लियो। त्यो दिन प्रधानाध्यापकबाट दुवै झगडियाले पिटाइ खाइयो, तर फरक कारणले। उसको दोष ‘केटा भएर केटीमाथि हात उठाउनु’ थियो। मेरोचाहिँ ‘केटी भएर फाइट खेल्नु’ रहेछ। विद्यालयको क्याम्पको सिलसिलामा हामी १०–१२ विद्यार्थी दाङ पुगेका थियौँ। एउटा सामुदायिक विद्यालयका विद्यार्थीसँग हाम्रो सामूहिक कार्यक्रम थियो। मलाई देखेर त्यहाँका केही विद्यार्थीबीच बाजी चलेछ, यो ‘केटा कि केटी’ भनेर। धेरैले बाजी हारेछन्। छोटो कपाल, ट्र्याकसुटमा मञ्चमा उभिएर भाषण गर्ने केटी सायद पहिलोचोटि देखेका थिए। यहीँनिर जीवनको प्रमुख चुनौतीको आभास भयो। बाल्यकालसम्म मेरा पुरुषअनुरूप गुणहरूको अनुमोदन भए पनि जवान हुँदै गर्दा ‘महिला’ हुन सिक्नुपर्यो।
१२–१३ वर्षमा शुरू भएको शारीरिक परिवर्तनले एक किसिमको अन्योल र अत्यास जन्मायो। हामी धेरै नेपाली महिला आफ्नो शरीरलाई सहजै माया र स्वीकार गर्न सक्दैनौँ। जैविक रूपले हुने महिला शरीरका स्वाभाविक विकास र प्रक्रियाप्रति सधैँ एक खालको डर, त्रास र लाजले पिरोल्छ। मेरो एक साथी उमेरअनुसार वक्षस्थल विकास हुँदै गर्दा झुकेर हिँड्न थाली। लामो समयसम्म त्यसरी हिँड्दा उसको ढाड नै कुप्रिएको हो कि जस्तो लाग्थ्यो। यो कस्तो बाध्यता हो, एउटा किशोरीले आफ्नो शरीरमा भएको स्वाभाविक जैविक विकासलाई उत्सवका रूपमा लिन सक्दिनँ।
कसैले छोइदेला, चिमटिदेला। सधैँ सम्भावित यौनिक अतिक्रमणबाट त्रस्त हुँदै किशोरवय र जवानी बितेको पत्तै हुँदैन। यो एउटा मनोवैज्ञानिक सामाजिक त्रास नै सायद यस्तो अदृश्य, तर अचुक नारी दमनको अस्त्र जस्तो लाग्छ। अनि जीवनको यो मोडमा आएर बुझ्दै छु, हाम्रो समाजमा महिलाको शरीर उसको आफ्नो त होइन रहेछ। महिलाको शरीरसँग उनको परिवार र समुदायको 'इज्जत' जोडिएको रहेछ। महारानी सीतालाई सामान्य धोबीले चरित्रहीनताको आरोप लगाइदिए पुग्छ, चरित्रहीन होइन भनेर सीताले प्रमाण जुटाउनुपर्छ। राष्ट्रप्रमुख विद्या भण्डारीको बहालीको बेला चलेका हल्लाहरू सम्झिँदा लाग्छ, चरित्रवान् महिलाको छविको सामाजिक अनुमोदनको प्रक्रिया बडो जटिल रहेछ।
सात वर्षको छात्रावासको अनुभवलाई फर्केर हेर्दा छात्रावासको बसाइँले आत्मनिर्भरताको विकास त गर्यो, तर पारिवारिक सम्बन्धहरूमा एक खालको दूरी ल्यायो। पारिवारिक माहौल र जमघटमा अझै पनि एक किसिमको अप्ठेरो महसुस गर्छु। घरायसी काम र पारिवारिक सम्बन्धको व्यवस्थापनमा दिदीबहिनी जति सक्षम छन्, आफूमा त्यस्तो पाउँदिनँ। डेढ सय विद्यार्थी अगाडि निर्धक्क बोल्न सक्ने मान्छे, पारिवारिक समारोहमा हुने गफमा त्यति धक फुक्दैन। आफूले पढ्ने मौका नपाएकी आमा ‘पढेरै भविष्य बनाऊ, मजस्तो घरमा बस्ने हुनहुँदैन’ भन्नुहुन्थ्यो। तर पछि चिन्ता लाग्न थालेछ। "तिमीलाई बत्ती कात्न आउँदैन, टपरी गाँस्न आउँदैन, सेल पकाउन आउँदैन, तिम्रो बिहे भएपछि मलाई पो गाल पर्ने भो," भन्न थाल्नुभयो।
तालिम र निचोड
अनि त एसएलसी दिएपछिको लामो छुट्टीमा बुवाले नजिकको बहिनीकोमा बस्न पठाउनु भयो। कारण एउटै थियो, त्यतिखेरको नेपाली समाजले खोज्ने सभ्य, सुशील, आदर्श महिला बन्ने तालिम लिन। दिज्जूले कागजजस्तै पातलो रोटी बेल्नेदेखि लिएर, स्विटर बुन्न र मान्यजनलाई 'ज्युहजुर' गरेर नम्र बोल्ने प्रशिक्षण दिनुभयो। त्यहाँ गएर थाहा भयो, घरको काम पनि एउटा कला रहेछ। अहिले खाना मीठो नै पकाउँछु, बुनाइलाई 'थेरापी'का रूपमा लिन्छु, तर नेपाली समाजले खोजेको ठ्याकै सभ्य अनि सुशील महिला भने म बनिनजस्तो लाग्छ।
बुवा फुर्सदको समय आध्यात्मिक गुरुहरूकहाँ गएर छलफल गर्न रुचाउनुहुन्थ्यो। सानो छँदा बुवाले घुमाउन लाने ठाउँ– पशुपतिमा बस्ने श्यामचेतन बाबाको कुटी थियो। सबैले ‘ठूलो मान्छे बन्नू’ भन्ने त्यो बेलामा बाबाले ‘धेरै पढ्नू’ भन्नुहुन्थ्यो। एउटा छटपटी हुन्थ्यो, ‘केही बन्ने, केही गर्ने।’ कहिले वकिल बन्ने योजना बुन्थेँ, कहिले संगीतकार त कहिले लेखक। तर यो क्रममा के सिकिँदो रहेछ भने, मान्छे आफू जहाँ छ र जे गरिरहेछ, इमानदारीपूर्वक गर्ने हो भने त्यही वर्तमानको मिहिनेतले भविष्यको बाटो तय गर्ने रहेछ।
बुवा सरकारी कर्मचारी, सरकारी जागिर राष्ट्रसेवाको एउटा माध्यम र जीविकाको स्रोतभन्दा बढी रहेन। न्यूनतम आवश्यकताबाहेक फुर्माइसी रहरमा बुवाको सधैँ 'अटोमेटिक' प्रतिक्रिया हुन्थ्यो, ‘पैसा कमाउन गाह्रो हुन्छ, खर्च गर्न सजिलो, इच्छा लागेका कुरा आफ्नै कमाइले किन्नू।’ त्यही चोटले एसएलसी पास गर्नेबित्तिकै टोलका बच्चालाई ट्युसन पढाउने शिक्षक बनायो। आईए भर्ना हुँदा त निजी विद्यालयकै शिक्षिका भइसकेको थिएँ। त्यही समयदेखि व्यस्त दैनिकीमा अभ्यस्त भइयो– कलेज पढ्न बिहान ४ बजे उठ्ने, ११ बजे पढाउने स्कुल पुगिसक्ने। स्कुल टाढा, घर फर्किँदा बेलुकाको सातै बज्थ्यो। कलेजका साथीहरू भन्थे, "मेरो त बुवाले जब गर्न आवश्यक छैन भन्नुहुन्छ।"
मेरै बुवा मात्र अप्ठ्यारा रहेछन् जस्तो पनि लाग्थ्यो। त्यसबखतका साथीहरूको तुलना गर्दा शहरमा हुर्केका भन्दा गाउँबाट आएका र आर्थिक कठिनाइ झेल्दै पढेका साथीहरू अहिले स्थापित छन्। पढाइ पूरा नभई विवाह गर्न बाध्य साथीहरूको आत्मनिर्भरताको यात्रा थप चुनौतीपूर्ण रह्यो। मलाई पनि एक दिन बुवाले सोध्नुभयो, “बिहे रोज्ने कि करिअर?” अहिले झन्डै दुई दशकपछि पनि मलाई यो प्रश्न त्यत्तिकै सान्दर्भिक लाग्छ। त्यतिखेरको सामाजिक परिवेशअनुसार बुवाले यो प्रश्न राख्नुभएको थियो, अनि भविष्यको निर्णय आफैँ गर्नुपर्छ भन्ने शिक्षा पनि। त्यतिखेर करिअर रोजेँ। पछि जीवन चलाउन साथी चाहिने रहेछ भन्ने महसुस भयो। अलिअलि संयोग, अलिअलि आफ्नै मिहिनेत र निर्णयले असल जीवनसाथीसँग विवाह पनि गरियो।
झन्डै दुई दशकको विवाहित जीवन, दुई 'टीनेज' छोराको आमा, बुढ्यौलीले छोप्दै गरेको बाआमाको हेरचाह गर्ने छोरी र एक 'प्रोफेसनल'का रूपमा आफूलाई हेर्दा हाम्रो पुस्ताका महिलाको प्रमुख चुनौती परिवार र कामबीचको सन्तुलन नै हो भन्ने लाग्छ। हामी महिला बिस्तारै घरबाहिर नयाँनयाँ भूमिकामा आफूलाई स्थापित गर्दै छौँ। अब महिलाले घर बाहिर काम गर्नुपर्छ भन्ने कुरा बहसको विषय नै रहेन। तर घरभित्र अझै पनि ‘श्रीमती’, ‘बुहारी’ र ‘आमा’को भूमिका पुरातन मान्यतामै आधारित छन्। यस्ता मान्यताहरूलाई कायम गर्दै महिलाले जागिरसम्म खान सक्छन्, तर करिअर बनाउन सक्दैनन्। यसो भन्नुको मतलब सकारात्मक परिवर्तन केही भएकै छैनन् भन्ने चाहिँ होइन।
बदल्नुपर्ने 'न्यारेटिभ'
करिब एक दशक अघिको कुरा हो– म पुरुषत्वसम्बन्धी एउटा आवासीय कार्यशालामा दक्षिण एशियाका केही महिलाहरूको साथमा थिएँ। दिनभरको सत्र सकेर, होटलको बगैँचामा हामी मस्त गफ चुटिरहेका थियौँ। अक्सर प्रोफेसनल महिलाहरूको कुराकानी करिअरका चुनौतीहरूमै केन्द्रित रहने गर्छन्। देश फरक भए पनि कामकाजी महिलाहरूको अनुभवमा धेरै समानता भेटिए। त्यही क्रममा कुराकानी श्रीमान्मा सोझियो। कार्यशालामा भाग लिन हामी सबै करिब १५ दिनलाई घर छाडेर, देशै छोडेर आएका थियौँ। सबै भन्दै थियौँ, "श्रीमान् सहयोगी नहुने हो भने त यति अगाडि कहाँ बढ्न सकिन्थ्यो र, घरको काममा सघाएका छन् र त निर्धक्क अगाडि बढ्न सकिएको छ।"
साथी जया लुईंटेलले असहमति दर्ज गर्दै भनिन्, "बच्चा त श्रीमान्को पनि हो, खाना श्रीमान्ले पनि खाने हो, अनि हामी सचेत महिलाहरूले नै मेरो श्रीमान्ले बच्चा हेर्न र खाना पकाउन सघाइदिएको छ भन्नु सरासर गलत हो।" वास्तवमा ‘श्रीमान्ले घरको काममा सघाइदिएर गुन लगाएको छ’ भन्दा घरको काम महिला मात्रको जिम्मेवारी हो भन्ने 'न्यारेटिभ'लाई नै बल पुर्याउँछ। महिलाहरू पनि पुरुषसरह घरबाहिर काम गर्छन् भने बच्चाको स्याहारसुसार र घरायसी कामलाई घरका सबै सदस्यको संयुक्त जिम्मेवारीका रूपमा स्विकार्नु जरुरी छ। हाम्रो पुस्ताका महिलाहरूको प्रमुख चुनौती यही विचार स्थापित गर्नु हो। हामी यसमा सफल भयौँ भने अब आउने छोरीपुस्ताले योभन्दा ठूला चुनौतीको सामना गर्न सक्छन्।
लेखक त्रिभुवन विश्वविद्यालयका समाजशास्त्र विषयको उपप्राध्यापक हुन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
