जितपुरसिमरामा बस दुर्घटना हुँदा १ जनाको मृत्यु, २७ घाइते

धनगढीबाट विराटनगरतर्फ गइरहेको यात्रुवाहक बस खोलामा खसेको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ।

बागमती– पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत हेटौँडा–पथलैया सडकखण्डमा यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। अन्य २७ जना घाइते भएका छन्। घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ। 

मंगलबार दिउँसो बाराको जितपुरसिमरा उपमहानगरपालिका–२२ को ३ नम्बर पुल भन्ने स्थानमा दुर्घटना भएको हो।

धनगढीबाट विराटनगरतर्फ गइरहेको बस पुलनजिक खोलामा खसेको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ। दुर्घटनामा ज्यान गुमाएका र घाइते भएकाहरूको विस्तृत विवरण प्राप्त भइसकेको छैन।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार दुर्घटनामा घाइते भएकाहरूको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ।