दशैँभरिका लागि ''रुट परमिट'' हट्यो, गाडीहरू स्वैच्छिकरूपमा चल्न पाउने

सरकारले देशैभर लागू हुने गरी स्वैच्छिकरूपमा गाडी सञ्चालन गर्न पाउने व्यवस्था गरेको छ। यो व्यवस्था आजबाट कोजाग्रत पूर्णिमासम्म लागू हुनेछ।

काठमाड‌ौँ- सरकारले दशैँ, तिहारका लागि जान चाहने यात्रुलाई लक्षित गर्दै आजबाट ‘रुट परमिट’ लिनुपर्ने व्यवस्ठा स्थगित गरेको छ। अब सार्वजनिक यातायातका साधनले पूर्वस्वीकृति नलिइ जुनसुकै ठाउँमा पनि यात्रु लैजान सक्नेछन्।



दशैँको पूर्णिमा (असोज २३ गते) सम्मका लागि लागि यात्रु आ-आफ्नो घर जान र फर्कन सजिलो होस् भन्ने उद्देश्यले यस्तो व्यवस्था गरेको हो। यातायात व्यवस्था विभागले कुनै बाटोको विशेष प्रकृतिका कारण निषेध गरिएका आकार र प्रकारका सवारीसाधनमा भने बन्देज कायम रहने जनाएको छ।



दशैँका समयमा बर्सेनि काठमाडौँ  उपत्यकाबाट ठूलो संख्यामा यात्रु बाहिरिने गरेका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले गत वर्ष १० लाख यात्रु काठमाडौँ उपत्यकाबाट बाहिरिएकामा यस वर्ष त्यो संख्या २० लाख पुग्नसक्ने बताए।



काठमाडौँबाट मात्रै होइन उपत्यका बाहिरका क्षेत्रीय सहरबाट र जिल्ला सदरमुकामबाट पनि धेरै यात्रु आ९आफ्नो घर जाने गरेका छन्। कतिपय यात्रु काठमाडौँ  बाहिरबाट उपत्यका भित्रने भए पनि त्यो संख्या कम रहेको महासंघले जनाएको छ। उनले भने, ‘यहाँबाट भरिएर गएका गाडी खालीजस्तै फर्कन पर्छ।’



सबै क्षेत्रले यात्रुवाहक सवारीसाधनलाई पहिलो प्राथमिकतामा दिएर त्यसपछि मात्रै निजी र मालवाहक सवारीसाधनलाई दिनुपर्ने उनले बताए। अति आवश्यक पर्ने सामान ल्याउनेबाहेक अठार र बीस चक्के सवारीसाधन चल्न पाउने छैनन्। विभागले १५ गतेबाट २२ गतेसम्म नारायणगढबाट काठमाडौँसम्म सञ्चालन गर्न रोक लगाउने निर्णय गरेको छ।



यस वर्ष नयाँ सवारीसाधन नआएकाले हाल भएकालाई व्यवस्थापन गर्ने वरिष्ठ उपाध्यक्ष सिटौलाले बताए। कतिपय यात्रु यो महिनाको शुरूदेखि नै जान थालेका छन् भने यो संख्या आजदेखि अझै बढ्ने अनुमान गरिएको छ। सबैभन्दा बढी चाप फूलपाती पछि हुने उनले बताए।



दशैँ, तिहार, छठसँगै निर्वाचनमा जाने यात्रु यो अवधिमा बाहिरिने महासंघले जनाएको छ। सडकमा रहेका खाल्डाखुल्डी र पहिरो पन्छाउन ‘हेभि इक्वुपमेन्ट’ ठाउँठाउँमा राख्न सडक विभागलाई महासंघले अनुरोध समेत गरेको छ। यस वर्ष वर्षाले गर्दा देशभरका धेरै सडकमा खाल्डाखुल्डी छन्। वर्षा नरोकिएकाले ठाउँठाउँमा पहिराका कारण अहिले पनि सडक अवरुद्ध भइरहने जनाइएको छ।