धादिङ दुर्घटना: मृत्यु हुनेको संख्या ७ पुग्यो, ३९ जना घाइतेको उद्धार

दुर्घटनामा घाइते दुई विदेशीसहित ३९ जना यात्रुको उद्धार गरी अस्पताल पठाइएको र अन्यको खोजी भइरहेको धादिङका एसपी गौतमकुमार केसीले जानकारी दिए।

काठमाडौँ– लुम्बिनीबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुवाहक बस त्रिशूलीमा खस्दा मृत्यु हुनेको संख्या सात पुगेको छ। 

धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीमा बुधबार बिहान भएको दुर्घटनामा घाइते ३९ जना यात्रुको उद्धार गरिएको प्रहरीले जनाएको छ। अन्यको खोजी भइरहेको धादिङका एसपी गौतम केसीले जानकारी दिए। उनका अनुसार घाइते हुनेमा १ जना क्यानडा र १ जना पोल्यान्डका नागरिकसमेत छन्। 

बसमा करिब ५० जना यात्रु रहेको प्रहरीले जनाएको छ। बस पृथ्वी राजमार्गबाट करिब १०० मिटर तल त्रिशूली नदीमा खसेको छ।

“घाइतेको उद्धार गरी स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचारपछि अधिकांशलाई थप उपचारका लागि काठमाडौँ र चितवन पठाइएको छ,” एसपी केसीले भने। उद्धार जारी छ। बस नदीमा डुबेकाले मृतकको संख्या बढ्नसक्ने प्रहरीको अनुमान छ।