अर्थशास्त्रमा स्नातकोत्तर गरी १० वर्ष शिक्षण पेसामा बिताएका याम कार्की गाउँ फर्केर बाख्रापालन गरिरहेका छन्। व्यवसायमा निरन्तरता दिए गाउँमा बसेर राम्रो आम्दानी गर्न सकिने उनको भनाइ छ।
फिक्कल– माङसेबुङ गाउँपालिका–१ इलामका याम कार्कीले व्यावसायिक बाख्रापालनबाट वार्षिक आठदेखि १० लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन्।
त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र विषयमा स्नातकोत्तर उत्तीर्ण गरी १० वर्ष शिक्षण पेसामा बिताएका उनले गाउँ फर्केर बाख्रापालन गरिरहेका छन्। माङसेबुङ गाउँपालिका–१ स्थित गजुरमुखीमा विगत सात वर्षदेखि व्यावसायिक बाख्रा फार्म सञ्चालन गरेका छन्। २०७३ सालमा ‘इलाम एग्रो फार्म’ शुरू गरेका हुन्। उनको फार्म अहिले नमूना फार्मका रूपमा परिचित छ।
काठमाडौँमा लामो समय बिताउँदासमेत जीविकोपार्जनमा समस्या भएपछि आफ्नै गाउँ फर्केर सात वर्षदेखि बाख्रापालन गर्दै आएको कार्कीले बताए। “१० वर्षसम्म काठमाडौँका विभिन्न कलेजमा पढाएँ तर सोचेजस्तो आम्दानी गर्न सकिनँ, शहरमा दुःख गर्नुभन्दा आफ्नै गाउँमा केही गर्छु भनी गाउँ फर्केर सात वर्षदेखि यहाँ बाख्रापालन गर्दै आएको छु,” उनले भने, “वार्षिक आठदेखि १० लाखसम्म कमाइरहेको छु, यो व्यवसायबाट राम्रो आम्दानी भइरहेको छ।”
उनले शहरमा बगाउने पसिना गाउँमा नै बगाए गाउँलाई पनि योगदान पुग्ने र जीविकोपार्जनमा समस्या नहुने बताए। उनले व्यवसायमा निरन्तरता दिए गाउँमा बसेर राम्रो आम्दानी गर्न सकिने बताए।
सञ्चालन गरेको फार्ममा अफ्रिकन बोयर, खरी र जमुनापारि जातका माउ, ब्याड बोका र पाठापाठी गरी १०० हाराहारीमा बाख्रा रहेका छन्। त्यहाँ उत्पादित बाख्रा खपतका लागि बजारको समेत कुनै समस्या छैन। व्यापारीहरू बाख्रा र पाठापाठी खरिद गर्न फार्ममा आउने गरेको उनले सुनाए। गाउँमा सम्भावना नदेखेर विदेश लाग्नेहरूका लागि उदाहरण बन्न सकिन्छ कि भनेर जागिर छाडेर बाख्रापालन शुरू गरेको दाबी गरे।
“बीउ उत्पादन गर्ने सोचका साथ अफ्रिकाबाट बोयर बोका र माउ ल्याएर बाख्रापालन थालियो, अहिले यही व्यवसायबाट खर्च कटाएर बचेको पैसाले घरखर्च चलेको छ,” उनले भने, “बिक्रीका लागि बजारको समस्या छैन, यहाँ उत्पादित बाख्रा र बोका इलामसहित देशभरका विभिन्न जिल्लामा निर्यात हुने गरेको छ।”
उनको फार्ममा दुईजना युवाले रोजगारी पाएका छन्। आफू र आफ्नो परिवारका सदस्यबाहेक दुई जना कामदारलाई रोजगारी दिएको उनले बताए। उनले भने, “आफू स्वरोजगार भई अरूलाई समेत रोजगारी दिन पाउँदा आनन्द लाग्दो रहेछ।”
बाख्रापालनमा सहजताका लागि ४० रोपनीमा उन्नत जातको घाँसखेती लगाएका छन्। तीन वर्षअघि प्रदेश सरकारबाट सात लाख रुपैयाँ अनुदान पाएका थिए। सो अनुदानबाट आधुनिक खोर निर्माण गरेका छन्। ब्याड बोका, माउ बाख्रा, खसी, बोका एवं पाठापाठी राख्ने खोर अलग–अलग बनेको छ।
“युवाहरू बिदेसिने क्रम रोक्न र गाउँघरमै बसेर स्वरोजगार बन्न सकिन्छ भन्ने सन्देश दिन बाख्रापालन शुरू गरेको हुँ,” कार्कीले भने, “निरन्तरता दिएर नवीनतम ढंगबाट काम गर्ने हो भने गाउँघरमा नै मज्जाले कमाई गर्न सकिन्छ। म आफ्नो व्यवसायबाट सन्तुष्ट छु।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
