बालुवाटारबाट पक्राउ परे १३ जना मिटरब्याजपीडित

आन्दोलन गरिरहेका मिटरब्याज पीडितलाई प्रधानमन्त्री निवासको ३ नम्बर गेटबाट पक्राउ गरिएको हो। उनीहरूलाई प्रहरी वृत्त, मालीगाउँमा राखिएको छ।

काठमाडौँ– मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाहसहित १३ जना पक्राउ परेका छन्। 

कुशवाहसहित नौजना पुरुष र चारजना महिला पक्राउ परेको काठमाडौँ प्रहरी परिसरकाले जनाएको छ। 

आन्दोलन गरिरहेका मिटरब्याज पीडितलाई प्रधानमन्त्री निवासको ३ नम्बर गेटबाट पक्राउ गरिएको हो। उनीहरूलाई प्रहरी वृत्त, मालीगाउँमा राखिएको छ।

मिटरब्याज पीडितले अध्यक्ष कुशवाहको नेतृत्वमा सरकारी वार्ता टोलीसँग वार्ता गरिरहेका थिए। तर, पटक–पटक भएका वार्ता विना निष्कर्ष टुंगिएका छन्।

संघर्ष समितिले न्याय मार्चको तेस्रो चरणको कार्यक्रमअन्तर्गत ३७औँ दिन बालुवाटार मार्च गरेका छ। सरकारसँग सकारात्मक वार्ता हुन नसकेपछि आन्दोलनलाई थप सशक्त बनाउन भृकुटीमण्डपदेखि बालुवाटारसम्म मार्च गरेको हो। 

मार्चमा सहभागी पीडित मेहु गिरीले सरकारले आफूहरूको आन्दोलनमा अवरोध पुर्‍याएर झन् पीडित बनाएको गुनासो गरे। एक लाख रुपैयाँ साहुबाट ऋण लिएर चार लाख बुझाएपछि पनि साहुले जग्गा नै लिलामी गरिदिएको भन्दै उनले न्यायप्रति नै आशा मरेको बताए।