राष्ट्रपति रामचन्द्र पौडेलले तीन उपप्रधानमन्त्रीसहित १६ नवनियुक्त मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएका छन्। यसअघि पहिलो चरणमा विनाविभागीय मन्त्रीका रूपमा सोमबार ३ जनाको शपथ भइसकेको थियो।
काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले तीन उपप्रधानमन्त्रीसहित १६ नवनियुक्त मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएका छन्। राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ८० अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा उपप्रधानमन्त्रीसहित नवनियुक्त मन्त्रीहरूलाई बुधबार साँझ राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा पद तथा गोपनीयताको शपथ गराएका हुन्।
नेपाल कम्युनिस्ट पार्टी (एमाले)का तर्फबाट उपप्रधानमन्त्रीसहित भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ, रक्षामन्त्री हरिप्रसाद उप्रेती, खानेपानीमन्त्री राजेन्द्र राई, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी, कृषि तथा पशुपन्छीमन्त्री ज्वालाकुमारी साह र भूमि व्यवस्था तथा सहकारीमन्त्री बलराम अधिकारीले पद तथा गोपनीयतको शपथ लिएका छन्।
यसैगरी नेकपा (माओवादी केन्द्र)का तर्फबाट उपप्रधानमन्त्रीसहित परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री वर्षमान पुन, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले शपथ लिए।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उपप्रधानमन्त्रीसहित गृहमन्त्री रवि लामिछाने, शिक्षा-विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठ र युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले शपथ लिएका छन्।
पद तथा गोपनीयतको शपथ लिनेमा नेकपा (एकीकृत समाजवादी)का तर्फबाट संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशी र शहरी विकासमन्त्री धनबहादुर बुढा रहेका छन्।
पहिलो चरणमा विनाविभागीय मन्त्रीका रूपमा नियुक्त भएका नेकपा (एमाले)का पदम गिरी, नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीका डोलप्रसाद अर्यालले यही फागुन २१ गते शपथ लिइसकेका थिए।
मन्त्रीमण्डल पुनर्गठनका क्रममा आज एमालेका गिरीलाई कानून, न्याय तथा संसदीय व्यवस्था, माओवादी केन्द्रका तामाङलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र स्वतन्त्र पार्टीका अर्याललाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी तोकिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।
समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री दाहाल, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललगायत विशिष्ट व्यक्तित्वको उपस्थिति थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
