उपेन्द्र यादवको नेतृत्वमा जसपा सरकारमा जाने

जसपा अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ।

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा) सरकारमा सहभागी हुने भएको छ।

बिहीबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले पार्टी अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा सहभागी हुने निर्णय गरेको हो। पार्टीका प्रवक्ता मनीषकुमार सुमन बैठकले अध्यक्ष यादवको नेतृत्वमा सरकारमा जाने निर्णय गरेको बताए। 

“सरकारमा थोरै फेरबदल, कांग्रेसको बहिर्गमन र नेकपा एमालेको आगमनलाई हामीले सहजै स्वीकार गरेर आठबुँदे सहमति नै गरेका छौँ,” उनले भने, “प्रधानमन्त्री तथा अन्य दलहरूको आग्रहमा हामी सरकारमा जाने भएका छौँ।”

उनका अनुसार बैठकले उपप्रधानमन्त्रीसहित अध्यक्ष यादवको नेतृत्वमा जसपा सरकारमा सहभागी हुने निर्णय गरेको हो। मन्त्रीको टुंगो लगाउने तथा कतिपय अन्य विषयमा निर्णय हुन भने बाँकी रहेको उनले बताए।