बागलुङ नगरपालिकाले बांगेचौर खेल मैदानलाई आधारभूत रंगशाला बनाउने गरी समपूरक योजनामा समावेश गरेको चार वर्ष भएको छ। लगातार बजेट आउँदासमेत बजेट कार्यान्वयन हुन नसकेको स्थानीय बताउँछन्।
बागलुङ– क्रंक्रिटको ५० मिटरको पर्खालबाट छरपस्ट निस्किएका रडमा खिया लाग्न थालेका छन्। पर्खाल वरपरको क्षेत्र झाडीले पुरिएको छ। पाँच वर्षअघि निर्माण हुँदाहुँदै बीचमै रोकिएको बागलुङको बांगेचौर खेल मैदानको पूर्वाधारले खेलक्षेत्रलाई गिज्याइरहेको छ।
रंगशाला विस्तार गर्न हाल भइरहेको खेल मैदानभन्दा ५० मिटर तल क्रंक्रिटको पर्खाल लगाउन थालिए पनि बीचमै अलपत्र पर्दा रडमा खिया लागेका छन्। रामरेखा सामुदायिक वनभित्र पर्ने उक्त पूर्वाधारको अघि र पछि सल्लाका रूख हटाउन नसक्दा जंगलको बीचमा ठडिएको पर्खालले जो कोहीलाई अचम्मित पार्ने गरेको छ।
बागलुङको बांगेचौर खेल मैदानलाई आधारभूत रंगशाला बनाउनका लागि थालिएको पूर्वाधार निर्माण अहिले पाँच वर्षदेखि अलपत्र बनेको छ। पाँच वर्षअघि मात्रै संघीय सरकारको ५० लाख र गण्डकी प्रदेश सरकारको ३० लाख गरी ८० लाख रुपैयाँको लगानीमा निर्माण थालिएमा काम रोकिँदा बनेका पूर्वाधार पनि बिग्रन थालेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिए।
उनका अनुसार रंगशाला बनाउन रकम आएर पूर्वाधार विस्तार गर्न थालिए पनि जंगलका रूख बाधक बनेपछि अहिले पूर्वाधार बिग्रन थालेको हो। “रंगशाला बनाउन धेरै पहिला पहल भएको थियो, बजेटले निरन्तरता पाउन सकेन, पहिला बनाएको पूर्वाधारसमेत जीर्ण बन्न थालेको छ,” उनले भने।
पूर्वाधार निर्माणका लागि पछिल्लो समय बागलुङ नगरपालिका र संघीय सरकारले साझेदारीमा बजेट विनियोजन भएको अध्यक्ष खड्काले बताए। “खेल क्षेत्रमा राज्यको दृष्टिकोण कम छ, बजेट आए पनि रूख काट्न नसक्दा अहिले काम हुन सकेको छैन। भएका पूर्वाधारसमेत जोगाउन समस्या भइरहेको छ,” उनले भने।
संघीयतापछि नै दुई पटक स्थानीय सरकारका जनप्रतिनिधि आएका भन्दै बांगेचौरलाई रंगशाला बनाउने योजना पूरा नभएको खेलप्रेमीहरू बताउँछन्। तत्कालीन समयमा पूर्वाधार निर्माण गरिएको योजनामा बजेट नआए पनि स्थानीय र संघको साझेदारीमा बहुवर्षे योजनाअन्तर्गत आठ करोड रुपैयाँ बजेट सुनिश्चितता भएको छ।
निर्माणस्थलमा पर्ने करिब १५० रूख काट्न नसक्दा उक्तसमेत बजेट फ्रिज भइसकेको अध्यक्ष खड्काको भनाइ छ। “बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे भएर खेलाडीलाई सास्ती भएको बांगेचौर खेल मैदानलाई रंगशाला बनाउनका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बन्यो, काम थालियो तर पूर्णता भने पाउने सकेन,” उनले भने, “रंगशालाको डीपीआरअनुसार खेल मैदानको पूर्वपट्टि गरिएको ८० लाख लगानी खेर जाने अवस्थामा पुगेको छ।”
डीपीआरअनुसारको रंगशाला बनाउन पूर्वपट्टि मात्रै आठ करोड रुपैयाँ खर्च गर्ने भनिए पनि बजेट कार्यान्वयन गर्न नसक्दा यसै वर्षदेखि साझेदारीको बजेट आउन छोडेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष खड्काले बताए।
बागलुङ नगरपालिकाले बांगेचौर खेल मैदानलाई आधारभूत रंगशाला बनाउने गरी समपूरक योजनामा समावेश गरेको चार वर्ष भएको छ। लगातार बजेट आउँदासमेत बजेट कार्यान्वयन हुन नसकेको स्थानीय बताउँछन्।
नगरपालिकाको चार करोड ११ लाख रुपैयाँ र राष्ट्रिय योजना आयोगको सिफारिसमा विनियोजन भएको चार करोड ११ लाख रुपैयाँ बजेट तीन वर्षदेखि लगातार आए पनि कार्यान्वयन गर्न नसकिएको नगरपालिका कार्यालयले जनाएको छ।
डीपीआरमा उल्लेख भएअनुसार रामरेखा सामुदायिक वनभित्रको झन्डै १५० रुख फँडानी गर्नुपर्नेमा बहुवर्षीय योजनाका रूपमा बजेट विनियोजन हुँदा पनि वातावरणीय मूल्यांकनले रूख कटानसम्बन्धी अध्ययन गर्न एक वर्ष लाग्ने भन्दै कटान रोकेकाले बजेट कार्यान्वयनमा नआएको नगर कार्यालयको भनाइ छ।
तत्कालीन खेलकुद विकास समितिका अध्यक्ष धनबहादुर परियारको नेतृत्वमा पाँच वर्षअघि रंगशालाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) ३० लाख रुपैयाँ खर्चेर तयार गरिएको थियो। डीपीआरमा रंगशाला बनाउन ३० करोड रुपैयाँभन्दा बढी खर्च लाग्ने उल्लेख गरिएको छ।
डीपीआरअनुसार उपल्लो भागमा मध्यपहाडी लोकमार्गले छोएकाले तल्लो भागमा मैदान बढाउनुपर्ने र मैदान बढाउँदा १५० भन्दा बढी सल्लाका रूख कटान गर्न आवश्यक देखिएको छ। सोहीअनुसार पूर्वमा पाँच वर्षअघि नै पूर्वाधार निर्माण गर्न थालिएको थियो। तत्कालीन समयमा रूख कटान गर्न नसक्दा पूर्वाधार निर्माण बीचमै रोकिएको थियो।
वातावरणीय प्रभाव मूल्यांकन नगरी रूख काट्न नगरपालिकाले नसक्ने बागलुङ नगरपालिकाका इन्जिनियर सोविन घर्तीले जानकारी दिए। खेल मैदानको पूर्वतर्फ प्यारापेटलगायतको संरचना निर्माण भइसक्ने बेलामा बजेट कार्यान्वयनमा आउन नसक्नु दुःखद रहेको भन्दै उनले वन मन्त्रालयमा प्रतिवेदन थन्किँदा बजेट फर्केको बताए।
घर्तीले पहिलै पूर्वपट्टि संघ र प्रदेशको योजनामा केही क्रंक्रिटको पर्खाल लगाइएकामा उक्त पर्खालबाट निस्किएका रडमा खिया लागिसकेको जानकारी दिए। करिब ३५ रोपनी जग्गामा फैलिएको खेलमैदानमा रंगशाला बनाउन समन्वयको अभाव रहेको पाइएको जिल्ला फुटबल संघ बागलुङका कोषाध्यक्ष सूर्य लामिछानेले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
