निर्वाचन आयोगले दिएन रेशमलाई नागरिक उन्मुक्तिको अध्यक्षको मान्यता

निर्वाचन आयोगले रेशम चौधरीलाई नागरिक उन्मुक्ति पार्टीको अध्यक्षका रूपमा मान्यता दिन अस्वीकार गरेको छ।

काठमाडौँ– निर्वाचन आयोगले रेशम चौधरीलाई नागरिक उन्मुक्ति पार्टीको अध्यक्षका रूपमा मान्यता दिन अस्वीकार गरेको छ।

पुस अन्तिम साता कैलालीको टीकापुरमा गरेको पार्टी महाधिवेशनले नागरिक उन्मुक्तिको अध्यक्षमा चौधरीलाई चयन गरेको थियो। त्यसपछि केन्द्रीय समिति अद्यावधिकका लागि आयोगमा निवेदन पेश गरिएको थियो।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले नागरिक उन्मुक्ति पार्टीले अद्यावधिकका लागि पेश गरेको दस्ताबेज राजनीतिक दलसम्बन्धी ऐनबमोजिम नभएकाले अद्यावधिक नगरिएको बताए। “उहाँले अद्यावधिकका लागि पेस गरेको कुरा राजनीतिक दलसम्बन्धी ऐनबमोजिम भएन। त्यसो भएको हुनाले अद्यावधिक हुन सकेन भन्ने हो सारमा ‘डिसिजन’,” उनले भने।

आयोगले अद्यावधिकका लागि पेश गरेको दस्ताबेज अस्वीकार गरेसँगै पार्टीको अध्यक्षमा रञ्जिता श्रेष्ठले नै निरन्तरता पाएकी छन्। “आयोगले उहाँले पेश गरेको कागजात अद्यावधिक हुन सकेन भनेपछि अब पहिला आयोगको रेकर्डमा जो थियो उही नै अध्यक्ष रहने भयो,” उनले भने।

चौधरीमाथि लागेको अभियोगका कारण नै यस्तो निर्णय भएको उनको भनाइ छ। चौधरीले टीकापुर घटनामा जन्मकैद सजाय पाएका थिए। तर उनी राष्ट्रपतिबाट कद सजाय माफी मिनाहा पाएर जेलमुक्त भएका थिए। त्यसपछि पार्टीले अधिवेशनमार्फत उनलाई अध्यक्ष चयन गर्दै अद्यावधिकका लागि आयोगमा पेश गरेको थियो।

 

यो पनि : जेलबाट छुटेपछि आफ्नाहरूमाझ नै एक्लिँदै गएका रेशम चौधरी