क्षतिग्रस्त पुलमा जोखिमपूर्ण यात्रा

पुलमा बाढीले क्षति पुर्‍याएपछि जोखिमपूर्ण अवस्थामा आवतजावत गर्नु परिरहेको स्थानीय भरत बुढाथोकीले बताए।

बाँके– बाँकेको राप्ती सोनारी गाउँपालिका–१ कुसुममा राप्तीको बाढीले क्षतिग्रस्त झोलुंगे पुल मर्मत नहुँदा सर्वसाधारण जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन्।

कुसुमस्थित बासखोली–भवानियापुर जोड्ने उक्त झोलुंगे पुलमा २०७९ असोजमा आएको बाढीले क्षति पुर्‍याएको थियो। पुल क्षतिग्रस्त भएको डेढ वर्ष बिते पनि मर्मत हुन नसक्दा दुर्घटनाको जोखिम बढेको राप्ती सोनारी गाउँपालिका–१ का वडाध्यक्ष यमबहादुर खड्काले बताए। 

“बाढीले गर्दा झोलुंगे पुलका लठ्ठा चुँडिएका छन्, बाढीले बगाएको रूख पुलमै आएर अड्किएको छ, पुलका प्लेट पनि मान्छे खस्नेजस्ता भएका छन्,” वडाध्यक्ष खड्काले भने, “कुन दिन पुल नै खसेर ठूलो मानवीय क्षति हुने अवस्था छ।”

उक्त झोलुंगे पुल भएर राप्ती सोनारी गाउँपालिका–१ भवानियापुर, खुटी गाउँलगायत दाङको राजपुर गाउँपालिकाको भौवा, भैसाही तथा भारतबाट समेत ठूलो संख्यामा तीर्थयात्री आवतजावत गर्छन्। पुलमा बाढीले क्षति पुर्‍याएपछि जोखिमपूर्ण अवस्थामा आवतजावत गर्नु परिरहेको स्थानीय भरत बुढाथोकीले बताए। झोलुंगे पुलमा क्षति पुगेको डेढ वर्ष बितिसक्दा पनि अहिलेसम्म मर्मत गर्न बेवास्ता गरिएको उनको गुनासो छ।

राप्ती सोनारी– १ राप्तीपारी भवानीयापुर गाउँका स्थानीय मोहनराज डाँगीले क्षतिग्रस्त झोलुंगे पुलको अवस्था अत्यन्त दयनीय रहेको र जुनसुकै बेलामा पनि पुल खस्ने अवस्थामा पुगेको बताए। पुल मर्मतका लागि राप्ती सोनारी गाउँपालिका–१ कार्यालयले गाउँपालिका कार्यालयदेखि विभागमा पटक–पटक पत्र पठाए पनि वास्ता नभएको वडाध्यक्ष खड्काको भनाइ छ। 

“क्षतिग्रस्त पुल मर्मत गरिदिन चारपाँच पटक जति पत्र पठाइसकेँ, क्षतिग्रस्त पुल हेर्न सांसद आउनुभयो, गाउँपालिकाबाट पनि अध्यक्ष आएर हेर्नुभयो”, वडाध्यक्ष खड्काले भने, “दुई पटक झोलुंगे पुल शाखाका प्राविधिक आएर फर्के, यो वर्ष पनि मर्मत हुने छाँट छैन।” 

राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले बाढीले क्षतिग्रस्त बनाएको झोलुंगे पुल निर्माणको लागि आफूले निरन्तर पहल गर्दै आएको बताए।