गठबन्धन फेरबदल नेपालको आन्तरिक मामिला, हामीलाई फरक पर्दैनः भारत

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सत्ता समीकरण फेरबदल नेपालको आन्तरिक मामिला भएको र यसबाट भारतीय धारणा परिवर्तन नहुने बताएका छन्।

काठमाडौँ– नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले हालै भएको सत्ता समीकरण फेरबदल नेपालको आन्तरिक मामिला भएको बताएका छन्। 

नवनियुक्त अर्थमन्त्री वर्षमान पुनसँग बिहीबार सिंहदरबारस्थित मन्त्रालयमा भएको शिष्टाचार भेटमा राजदूत श्रीवास्तवले फेरिएको सत्ता समीकरणबाट नेपालप्रति भारतीय धारणामा कुनै परिवर्तन नआउने बताए। 

“सत्ता समीकरणमा भएको फेरबदल नेपालको आन्तरिक मामिला हो,” उनले भने, “यही कारण भारतको नेपालप्रतिको दृष्टिकोणमा कुनै फेरबदल नआउने भारत सरकारको सन्देश रहेको जानकारी गराउन चाहन्छु।” 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग डेढ वर्षदेखि जारी सहकार्य सन्तोषजनक रहेको उनको भनाइ थियो। उनले आगामी दिनमा पनि विश्वासका साथ काम गर्ने प्रतिबद्धता जनाए। 

श्रीवास्तवले नेपाल–भारतबीच सम्बन्ध मौलिक रहेको चर्चा गरे। उनले सम्बन्ध विगतमा जस्तै असल रहने प्रतिबद्धता जनाए। आपसी विश्वासका साथ सहयोग र लगानीका निरन्तर काम गर्ने उनको भनाइ थियो।