सेनामा भर्ती नेपाली स्वदेश फर्काउन परराष्ट्रमन्त्रीले गरे रुसी समकक्षीलाई फोन

मन्त्री नारायणकाजी श्रेष्ठले आफ्ना रुसी समकक्षी लाभरोसँग बिहीबार टेलिफोनमामा कुराकानी गर्दै त्यहाँको सेनामा रहेका नेपाली नागरिकको उद्धार गरेर स्वदेश फर्काउन आग्रह गरेका छन्।

काठमाडौँ– नवनियुक्त उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रुसी सेनामा रहेका नेपाली नागरिकका समस्या, ज्यान गुमाएकाको शव स्वदेश ल्याउन, मृतकका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन र रुसी सेनामा कार्यरत नेपाली नागरिकलाई स्वदेश फर्काउन सहजीकरण गर्न आफ्ना रुसी समकक्षीसँग आग्रह गरेका छन्।

उपप्रधानमन्त्री श्रेष्ठले रुसी महासंघका विदेशमन्त्री सर्गेइ लाभरोभसँग बिहीबार भएको टेलिफोन वार्तामा त्यस्तो आग्रह गरेका परराष्ट्र मन्त्रालयले जनाएको छ। कुराकानीका क्रममा रुसका विदेशमन्त्रीले उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीलाई परराष्ट्र मन्त्रालयको पदभार ग्रहण गरेकोमा बधाई दिँदै शुभकामना व्यक्त गर्नुका साथै व्यापार, पर्यटन, संस्कृतिलगायत विभिन्न क्षेत्रमा नेपालसँग सहकार्य गर्न इच्छुक रहेको बताएका मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ।

दुवै परराष्ट्रमन्त्रीले रुसी सेनामा रहेका नेपाली नागरिकको समस्यालगायत नेपाल–रुस सम्बन्धका विविध पक्षमा  पनि छलफल गरेको जनाइएको छ। उपप्रधानमन्त्री श्रेष्ठले क्षतिपूर्तिको प्रक्रिया प्रारम्भ गरेकामा रुसी महासंघका विदेशमन्त्रीलाई धन्यवाद दिँदै त्यसलाई चाँडोभन्दा चाँडो टुंग्याउन आग्रह गरेकोमा विदेशमन्त्री लाभरोभले नेपाली पक्षको चासो सम्बोधन गर्न आफू नेतृत्वको मन्त्रालयले सहयोग गर्ने आश्वासन दिएका छन्।