ट्राफिक प्रहरीले शिवरात्रिका दिन पशुपति क्षेत्रमा हुँदै चल्ने सवारीलाई डाइभर्सन गर्ने भएको छ भने मालवाहक सवारीलाई प्रवेश गर्न नदिने भएको छ।
काठमाडौँ– नेपाल प्रहरीले शिवरात्रि दिनको सुरक्षार्थ चार हजार ९४ सुरक्षाकर्मी परिचालन गरेको छ। काठमाडौँ उपत्यका प्रहरी कार्यालयले शिवरात्रिका लागि एकीकृत विशेष सुरक्षा योजना बनाइ लागू गरेको हो।
कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले तीन चरणमा परिचालन हुने गरी ड्रोनसहित सुरक्षाकर्मी परिचालन गर्ने निर्णय भएको बताए। उनका अनुसार सुरक्षाकर्मी बिहीबार राति १० बजेदेखि शनिबारसम्म पशुपति क्षेत्रको सुरक्षार्थ खटिने छन्।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी, काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय तथा जिल्ला प्रहरी परिसर काठमाडौँले संयुक्त रूपमा उक्त सुरक्षा योजना बनाइ लागू गरेको उनले बताए। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक नवराज अधिकारीको नेतृत्वमा उक्त टोली खटिने छ। आपतकालीन उद्धार टोली र एम्बुलेन्स तयारी अवस्थामा राखिएको प्रहरीले जनाएको छ।
त्यस्तै, ट्राफिक प्रहरीले शिवरात्रिका दिन पशुपति क्षेत्रमा हुँदै चल्ने सवारीलाई डाइभर्सन गर्ने भएको छ भने मालवाहक सवारीलाई प्रवेश गर्न नदिने भएको छ।
शिवरात्रिका दिन गौशालास्थित पशुपतिक्षेत्रमा रातिदेखि नै भिडभाड हुने भएकाले सवारीसाधनलाई डाइभर्सन गर्न लागिएको ट्राफिक प्रहरीले जनाएको छ। ट्राफिक प्रहरीले सवारीसाधनलाई १२ स्थानबाट डाइभर्सन गर्नेगरी रुट पनि सार्वजनिक गरेको छ।
गौशाला क्षेत्रतर्फ जाने सवारीसाधनलाई चाबहिल, पुरानो बानेश्वर, ज्ञानेश्वर, मैतीदेवीमोड, रातोपुल, सेतोपुल, कालोपुल, सिफलचौर, कुटुवहाल, गौरीघाट र तिलगंगाबाट डाइभर्सन गरिने काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले बताए।
उनका अनुसार मालवाहक सवारीसाधनलाई तीनकुने, जोरपाटी नारायणटार, चुच्चेपाटी, चाबहिल, सिनामंगल पुल र बसुन्धाराबाटै डाइभर्सन गरिने छ।
ट्राफिक प्रहरीले तीर्थयात्री, दर्शानार्थी र पर्यटकका सवारीसाधन पार्किङका लागि तिलगंगाको खाली स्थान, पशुपतिको करिडोर, गृहेश्वरी पारि सिफल चौर तोकेको छ। त्यस्तै, सरकारी र सुरक्षाकर्मीका सवारीका लागि कोषको कार्यालय, भण्डारखाल, शिविर सञ्चालन गर्ने संघसंस्थाका सवारी, दमकल, एम्बुलेन्स, खानेपानी र सुरक्षाकर्मीका सवारी पार्किङका लागि वनकाली क्षेत्र तोकेको छ।
मालवाहक तथा ढुवानीका सवारीसाधनबाहेक अन्य सार्वजनिक र भक्तजनका निजी सवारीसाधनलाई चाप र अवस्था हेरी व्यवस्थापन र डाइभर्सन गरिने ट्राफिक प्रहरीले जनाएको छ।
शिवरात्रिका दिन राति २ बजेदेखि पशुपतिनाथ मन्दिरका चारैवटै ढोका खोल्ने पशुपति क्षेत्र विकास कोषले जनाएको छ। पशुपति क्षेत्रमा गाजा, भाङ, मदिरा तथा मासु पूर्णरूपमा निषेध गरिएको छ। पशुपतिमा शिवरात्रिका दिन एम्बुलेन्स सेवा, करिब ६०० सवयंसेवक, ७० वटा स्वास्थ्य शिविर पनि सञ्चालन गरिने कोषको भनाइ छ।
१. आवश्यकता अनुसार डाइभर्सन गरिने स्थान
चाबहिलबाट गौशालातर्फ,
पुरानो बानेश्वरबाट गौशालातर्फ,
ज्ञानेश्वर मैतीदेवी मोडबाट रातोपुल हुँदै गौशालातर्फ,
द्वारीका होटलको उत्तरतर्फको शाखा मार्ग,
सिफल चौरबाट जयबागेश्वरीतर्फ,
लामोपोखरी कुटुवहालबाट मित्रपार्कतर्फ,
गौरीघाटबाट उमाकुण्ड तथा मित्रपार्कतर्फ,
तिलगंगाबाट गौशालातर्फ,
मालवाहक सवारी साधनहरू तीनकुनेबाट सिनामंगल, तिलगंगातर्फ,
जोरपाटी नारायणटारबाट करिडोर बाटो हुँदै आउने मालवाहक सवारीसाधनहरू गौरीघाटतर्फ,
सिनामंगल पुलबाट करिडोरको मार्ग हुँदै होटल महाराजा निस्कने मार्ग,
जोरपाटी, बौद्धतर्फबाट आउने मालवाहक सवारी साधन चुच्चेपाटीबाट चाबहिलतर्फ।
२. मालवाहक सवारीसाधनलाई गरिने डाइभर्सन
कोटेश्वर, तीनकुने, गौशाला हुँदै बौद्ध वा सुकेधारातर्फ जाने मालवाहक सवारीसाधनहरू जडीबुटी, काँडाघारी हुँदै बौद्धतर्फ सञ्चालन हुने,
कोटेश्वर तीनकुने हुँदै पशुपति वरपरतर्फ जाने मालवाहक सवारी साधनहरू तीनकुने आसपास व्यवस्थापन गरिने,
महाराजगन्ज, चाबहिल हुँदै पशुपति वरपर जाने मालवाहक सवारीसाधनहरू धुम्वाराहीमा मेला अवधिभर कुर्नुपर्ने,
कोटेश्वर वा गठ्ठाघरबाट बौद्ध जोरपाटी जाने मालवाहक सवारी साधनहरू जडीबुटी, पेप्सीकोला, गोठाटार पुल हुँदै बौद्ध जोरपाटीसम्म पुग्न सक्ने।
३. पार्किङको व्यवस्थापन गरिएका स्थानहरू
सिफल चौर (दर्शानार्थीहरूका लागि),
कोषको कार्यालय (सरकारी र सुरक्षाकर्मीका सवारी साधनहरू),
भण्डारखाल (सरकारी र सुरक्षाकर्मीका सवारी साधनहरू),
तिलगंगाको खाली स्थान र करिडोरमा (तीर्थयात्री, दर्शानार्थी र पर्यटकका सवारीसाधनहरू),
वनकाली (शिविर सञ्चालन गर्ने संघ संस्थाहरू, दमकल, एम्बुलेन्स, खानेपानी र सुरक्षाकर्मीका सवारीसाधनहरू),
गृहेश्वरी पारी (तीर्थयात्री, दर्शानार्थीहरूको सवारीसाधनहरू)।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
