नेपाली सेनाले २६१औँ वार्षिकोत्सव मनाउँदै, टुँडिखेलमा विशेष समारोह

सेनाले महाशिवरात्रिको दिनलाई स्थापना दिवसका रूपमा मनाउँदै आएको छ। त्यस अवसरमा सैनिक मञ्चमा परेड तथा तोप बढाइँ, कवाजलगायत विविध सांस्कृतिक कार्यक्रम सञ्चालन हुनेछन्।

काठमाडौँ– नेपाली सेनाले आफ्नो स्थापनाको २६१औँ वार्षिकोत्सव शुक्रबार विविध सैनिक कला, सांस्कृतिक एवं सांगीतिक प्रस्तुतिकासाथ मनाउँदै छ।

दिवसका अवसरमा टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ। सेनाले महाशिवरात्रिको दिनलाई स्थापना दिवसका रूपमा मनाउँदै आएको छ। त्यस अवसरमा सैनिक मञ्चमा परेड तथा तोप बढाइँ, कवाजलगायत विविध सांस्कृतिक कार्यक्रम सञ्चालन हुनेछन्।

यस पटक मौलिक नेपाली संस्कृति र परम्पराको जगेर्ना गर्ने उद्देश्यका साथ ३०० महिला र ३०० पुरुष सैनिकले एकसाथ लोपोन्मुख थाली नृत्य प्रस्तुत गर्ने कार्यक्रम रहेको सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए। त्यस अवसरमा नेपाली सेनाका साथै भारत, बेलायत र अमेरिकाका सेनाको सांगीतिक प्रस्तुति पनि हुनेछ। जंगीअड्डा मातहत पृतना, बाहिनी, गण र गुल्ममा पनि विभिन्न कार्यक्रम आयोजना गरिनेछ।

प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेना कानूनको परिधिभित्र रही स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षाका लागि जस्तोसुकै परिस्थितिको सामना गर्दै जीवनको आहुति दिन तत्पर अनुशासित सिपाहीको संगठन रहेको बताए। संगठन स्थापना दिवसका अवसरमा सकल दर्जालाई सम्बोधन गर्दै उनले सदैव व्यक्तिभन्दा संस्थामाथि रहने पक्ष स्मरण गराउँदै पदभन्दा प्रतिष्ठा ठूलो हो भन्ने नबिर्सिन सुझाव दिएका छन्।

वर्तमान सेनाको सांगठनिक स्वरूपको १८१९ सालदेखि शुरूआत भएको हो। संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापनार्थ नेपाली सेनाले प्रदान गरेको योगदानको राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रबाट प्रशंसा हुँदै आएको छ। संयुक्त राष्ट्रसंघीय शान्ति स्थापनामा नेपाली सेनाको सहभागिता सन् १९५८ देखि आरम्भ भएको थियो। हालसम्म ४४ शान्ति मिसनमा रही एक लाख ५० हजार ८९१ नेपाली शान्ति सैनिकबाट योगदान भइसकेको छ।

सो क्रममा नेपालका ७३ सैनिकले जीवन बलिदान दिइसकेका छन् भने ६८ सैनिक घाइते भएका छन्। विश्वमा हाल खडा भएका १२ शान्ति मिसनमा ६६२ महिलासहित पाँच हजार ८९० नेपाली शान्ति सैनिक परिचालित छन्। शान्ति स्थापनाका लागि सेना खटाउने मुलुकमा नेपाल पहिलो स्थानमा छ।

दरबार, गढी, संग्रहालय, ऐतिहासिक महत्वका संरचना, विद्युत् गृह, भौतिक पूर्वाधार एवं प्राकृतिक सम्पदाको संरक्षण र सुरक्षा, हिमाल सफाइ तथा विकास निर्माणको जिम्मेवारीले सैनिक–नागरिकसँगको सम्बन्धलाई बलियो बनाउँदै लगेको सेनाका प्रवक्ता भण्डारीले बताए।