भक्तजनको सहजताका लागि पशुपतिनाथका चारवटै ढोका बिहान २ बजेदेखि खोलिएको र एकैचोटीमा नौ जनादेखि १० जनासम्मले दर्शन गर्नसक्ने गरी व्यवस्था मिलाइएको कोषले जनाएको छ।
काठमाडौँ– महाशिवरात्रि पर्व शुक्रबार देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना गरी मनाइँदै छ। महाशिवरात्रि भगवान् शिवको पूजा–आराधना गरी मनाइन्छ। महाशिवरात्रिका अवसरमा पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो लागेको छ। वैदिक सनातन हिन्दु धर्मावलम्बीहरू मन्दिर, नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धा भक्तिपूर्वक पूजा–आराधना गर्छन्।
पशुपतिनाथमा बिहान ८ बजेसम्ममा एक लाखभन्दा बढी भक्तजनले दर्शन गरेको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवणीरमण अधिकारीले जानकारी दिए। भक्तजनको सहजताका लागि पशुपतिनाथका चारवटै ढोका बिहान २ बजेदेखि खोलिएको र एकैचोटीमा नौ जनादेखि १० जनासम्मले दर्शन गर्नसक्ने गरी व्यवस्था मिलाइएको कोषले जनाएको छ।
पशुपतिमा भारतबाट समेत साधुसन्त र तीर्थयात्री आएका छन्। यस वर्षको महाशिवरात्रिमा कम्तीमा २० लाख भक्तजनले पशुपतिको दर्शन गर्ने कोषले अनुमान गरेको छ। पशुपति क्षेत्रमा गाँजा, भाङ, जाँड–रक्सी तथा मासु पूर्ण रूपमा निषेध गरिएको छ।

पशुपति पुग्ने भक्तजनका लागि एम्बुलेन्स सेवा, करिब ६०० जना स्वयंसेवक, ७० स्वास्थ्य शिविर, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागका सुरक्षा अधिकारी परिचालन भएको कोषका सदस्य सचिव राजुकुमार खत्रीले बताए।
यस्तै, ललितपुरको कुम्भेश्वर, भक्तपुरको डोलेश्वरलगायत मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ। भक्तजन व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाएर पूजा गर्ने गर्छन्। महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठ–मन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गर्ने चलन पनि छ।
यस वर्ष पशुपतिनाथमा तीन हजारभन्दा बढी साधुसन्त आएको विकास कोषको अनुमान छ। उनीहरूका लागि धुनी, भोजन र बाटो खर्चका लागि पशुपति क्षेत्र विकास कोषले हरेक वर्ष बजेट छुट्याउँदै आएको छ। पशुपतिनाथ दर्शनार्थ महाशिवरात्रिका दिन ठूलो संख्यामा आउने भक्तजनको सहजताका लागि विभिन्न स्थानबाट मन्दिरसम्मको लाइनको प्रबन्ध मिलाइएको प्रवक्ता अधिकारीले बताए।

महाशिवरात्रि पर्वलाई व्यवस्थित बनाउन भकुण्डोलमा नेपाल प्रहरी मूल शिविर रहेको छ। सशस्त्र प्रहरी बलको नेपाल सुरक्षा कमान्ड पोस्ट पशुपतिक्षेत्र नासल चोकमा रहेको छ। मन्दिर नजिकै कोर क्षेत्रमा डाक्टर, नर्स, औषधि र बेडसहितिको नेपाली सेनाको मूल स्वास्थ्य शिविर छ। सशस्त्र प्रहरी, नेपाल प्रहरीसमेतका गरी करिब ७० वटा स्वास्थ्य शिविर रहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।
आपत्कालीन अवस्थाका लागि एम्बुलेन्स र आगो नियन्त्रक साधन उपलब्ध हुने जनाइएको छ। यस्तै जुत्ता, चप्पल व्यवस्थापन दर्शन लाइनलाई पायक बनाएर भुवनेश्वरीमा दक्षिणामूर्ति रुद्रगाडेश्वर दर्शनमार्ग, भुवनेश्वरी नजिक शंकराचार्य मठ पछाडि, बज्रघर दक्षिणतर्फ, राममन्दिर नजिक बागमती पारी गरी पाँच ठाउँमा व्यवस्थापन गरिने कोषले जनाएको छ।

यस्तै चन्दन वितरण दर्शन गरेर निस्किने कोर क्षेत्रभित्र, जयबागेश्वरी, ब्रजघर अगाडि दक्षिण ढोका र तिलगंगामा समेत रहेको छ। पशुपतिनाथको दर्शनका लागि यस पटक नौवटा बाटोको व्यवस्था गरिएको सदस्य सचिव खत्रीले बताए।
पार्किङ तथा ट्राफिक व्यवस्थापनका लागि तिलगैगा करिडोरको उपलब्ध ठाउँ, पशुपति क्षेत्र विकास कोषको कार्यालय, प्रहरी वृत्त ट्राफिक प्रहरी विभाग गौशाला, सिफल चौरहाको उपलब्ध ठाउँ, गुह्येश्वरी पारी गरी पाँच स्थानमा व्यवस्थापन गरिएको छ। विमानस्थल, गौशाला, चाबहिलको रिङरोडमा यात्रुको चापलाई ध्यानमा राखी सडकको आधा भागमा सार्वजनिक सवारी गुड्न दिने र आवश्यकताअनुसार डाइभर्सनकोसमेत व्यवस्था मिलाइएको जनाइएको छ।

कोषले पशुपतिनाथको दर्शन तथा पूजा आराधनाका लागि पुगेका भक्तजनलाई व्यवस्थापनमा कुनै कमी नराखिको जनाएको छ। बत्तिसपुतली, मैतीदेवी, पुरानो बानेश्वरतर्फबाट आउने दर्शनार्थीका लागि गौशाला–पिङगलास्थान गेट हुँदै वनकाली हुँदै दक्षिण ढोकाबाट प्रवेशको व्यवस्था गरिएको छ।
यसैगरी भक्तपुर, ललितपुर, कोटेश्वर, तिनकुने, विमानस्थल, तिलगंगा क्षेत्रबाट दर्शनार्थीका लागि मन्दिरको पूर्वी ढोकाबाट प्रवेशको व्यवस्था गरिएको छ। जोरपाटी, कपन, महाँकाल, चाबहिल, सिफलतर्फबाट आउने दर्शनार्थीका लागि मन्दिरको उत्तर ढोका तथा रातोपुल, कोलोपुल, चाबहिल, सिफलबाट आउने दर्शनार्थीका लागि मन्दिरको पश्चिमी बाहिरी सानो ढोकाबाट प्रवेश गराइने व्यवस्था मिलाइएको छ।
महाशिवरात्रि पर्वलाई लक्षित गरी पशुपतिनाथ मन्दिर आसपासलाई झकिझकाउ पारिएको छ। मन्दिर आसपासका क्षेत्रमा विभिन्न बत्तीले सजावट गरिएको छ। पाशुपत क्षेत्रलगायत विभिन्न क्षेत्रमा अहिले विभिन्न प्रकारका बत्तीले सजिसजाउसहित तथा झिलिमिली पारिएको छ। यसैगरी मन्दिर आसपासको क्षेत्रमा सरसफाइदेखि विभिन्न सजावटले सिँगारिएको छ।

फागुन २७ गतेसम्म गौशाला–मित्रपार्क सडकदेखि पूर्व, पशुपतिनाथ क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला–तिलगंगा चक्रपथदेखि उत्तर र मित्रपार्क–उमाकुण्ड–गौरीघाट हुँदै गुह्येश्वरीदेखि दक्षिणभित्रका सबै भागमा मासु र मदिरा बिक्रीमा रोक लगाएको छ।
पर्वलाई अनुशासित, मर्यादित र व्यवस्थित बनाइ भव्य रूपमा सम्पन्न गर्न र पाशुपत क्षेत्रभित्रको सुरक्षालगायत धार्मिक, सांस्कृतिक मर्यादा र पवित्रता कायम राख्न यस्तो रोक लगाइएको जनाइएको छ।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
