इँवाखोला जलविद्युत् आयोजना: पुनर्निर्माण नहुँदा उत्पादन ठप्प

जलविद्युत् आयोजनाको बाँध, पाइप लाइन र प्रसारण लाइन र विद्युत्‌गृहमा बाढीपहिरोले क्षति गरेको छ। पुनर्निर्माणको काम अहिलेसम्म नसकिँदा विद्युत् उत्पादन ठप्प छ।

फुङ्लिङ– गत असारमा आएको बाढीपहिरोले क्षति भएको इँवाखोला जलविद्युत् आयोजना अझै पनि पुनर्निर्माण हुन सकेको छैन।

ताप्लेजुङ र पाँचथरको सिमानाबाट बग्ने इन्द्रावती खोला क्षेत्रमा आयोजना निर्माण गरिएको थियो। आयोजनाको क्षमता ९.९ मेगावाट रहेको छ।

तत्कालीन रैराङ हाइड्रोपावर कम्पनीको प्रवर्द्धनमा उत्पादित जलविद्युत् आयोजनाको बाँध, पाइप लाइन र प्रसारण लाइन र विद्युत्‌गृहमा बाढीपहिरोले क्षति गरेको छ। आयोजनाको पुनर्निर्माणको काम अहिलेसम्म नसकिँदा विद्युत् उत्पादन ठप्प रहेको हो।

जलविद्युत् आयोजनाको विभिन्न संरचना ध्वस्त बनाउँदा ७० करोड बढी क्षति हुन पुगेको प्रारम्भिक अनुमान गरिएको थियो। स्वतन्त्र ऊर्जा उत्पादकको संस्था (इप्पान) का कार्यकारी सदस्यसमेत रहेका आयोजनाका कार्यकारी निर्देशक कुवेरमणि नेपालका अनुसार बाढीपहिरोले बाँध, एक किलोमिटर जति पाइप लाइन, विद्युत्‌गृह र अन्य संरचनामा क्षति गरेको थियो।

बाढीपहिरोले क्षति गरेको संरचनाको मर्मत तथा पुनर्निर्माणको काम भने अहिले धमाधम भइरहेको उनले जानकारी दिए। पुनर्निर्माणलाई तीव्रता दिँदै आएको र हालसम्म करिब ५० प्रतिशत काम सम्पन्न भइसकेको आयोजनाका स्थानीय जनसम्पर्क अधिकृत टीकाराम मिश्रले बताए। आगामी वैशाखसम्म उत्पादन शुरू गर्ने गरी हाल निर्माणको काम भइरहेको उनले बताए। उनका अनुसार लामो समयसम्म उत्पादन सञ्चालन नहुँदा आयोजनाले नोक्सानी खेपिरहेको छ।

आयोजना नजिक रहेको २५ मेगावाट क्षमताको काबेली ‘बी–१’ को विद्युत् उत्पादन भने सञ्चालन भएको छ। अरुण काबेली पावर लिमिटेडको प्रवर्द्धनमा निर्माण भएको काबेली ‘बी–१’ जलविद्युत् आयोजनाको उत्पादन करिब एक महिनादेखि शुरू भएको हो।

इँवाखोला, काबेली बी–१ लगायत यस क्षेत्रमा रहेका जलविद्युत् आयोजनालाई सोही अर्थात् एकै समयमा बाढीपहिरोले क्षति गरेको थियो।