खैरहनीको नयाँ अभ्यास: बस्ती–बस्तीमा गृहकार्य कक्षा सञ्चालन

नगरपालिकाले सामुदायिक विद्यालयमा कक्षा १ देखि ५ सम्म अध्ययन गर्ने विद्यार्थीका लागि नगरभित्रको २८ स्थानमा गृहकार्य कक्षा सञ्चालन गरेको छ।

काठमाडौँ– चितवनको खैरहनी नगरपालिकाले शिक्षाको क्षेत्रमा नयाँ अभ्यास शुरू गरेको छ। 

नगरपालिकाले विपन्न परिवारका बालबालिकाको लागि बस्तीमै गृहकार्य कक्षा सञ्चालन गरेको हो। दैनिक ज्याला मजदुरी गरेर परिवार पाल्नुपर्ने, बालबच्चालाई पठनपाठनमा सहजीकरण गर्न नसक्ने परिवारका बालबालिकाको लागि पायक पर्ने बस्तीमा गृहकार्य कक्षा सञ्चालन गरिएको हो।

नगरपालिकाले सामुदायिक विद्यालयमा कक्षा १ देखि ५ सम्म अध्ययन गर्ने विद्यार्थीका लागि नगरभित्रको २८ स्थानमा गृहकार्य कक्षा सञ्चालन गरेको छ। गृहकार्य कक्षाको लागि बस्ती नजिक रहेको कोठा, सामुदायिक भवन, संघसस्थाको भवन र विद्यालय नै भएको स्थानमा विद्यालयकै कोठामा गृहकार्य कक्षा सञ्चालन गरिएको खैरहनीका नगरप्रमुख शशीकुमार खनियाले जानकारी दिए। 

केही स्थानमा कोठा भाडामा लिएर समेत कक्षा सञ्चालन गरिएको र गृहकार्य कक्षाको लागि कापीसमेत नगरपालिकाले उपलब्ध गराएको छ। विद्यालयमा अध्ययन गरेपछि घरमा सिकाउने व्यक्ति नहुँदा विद्यार्थीले पर्याप्त शैक्षिक वातावरण नपाएको विषयलाई मध्यनजर गर्दै गृहकार्य कक्षा सञ्चालन गरिएको नगरप्रमुख खनियाले बताए। 

विद्यालयमा दिइएको गृहकार्यसँगै अन्य थप विषयवस्तु र व्यवहारिक शिक्षासमेत गृहकार्य कक्षामा दिइँदै आएको छ। गृहकार्य कक्षाको सहायताले विपन्न परिवारका बालबालिकामा विद्यालयपश्चात् पनि पढ्ने लेख्ने बानीको विकास हुने, अभिभावकको समय अभावमासमेत बालबालिकामाथि निगरानी र संरक्षण प्राप्त हुने नगरपालिकाकी उपप्रमुख कविता उप्रेतीले बताइन्। 

गृहकार्य कक्षाको लागि वडा समितिले छनौट गरेका २८ जना सहजकर्तालाई खटाइएको छ। सहजकर्तामा बहालवाला शिक्षक, स्वयंसेवक शिक्षक र कक्षा १२ उत्तीर्ण गरेका व्यक्ति रहेका छन् । प्रत्येक दिन दुई घण्टा कक्षा सञ्चालन हुँदै आएको छ। 

यस कार्यक्रमले १३ वटै वडाका ७८४ जना विद्यार्थी लाभान्वित हुने नगर शिक्षा अधिकारी राजु बानियाँले बताए। नगरले यसअघि सामुदायिक विद्यालयमा विषयगत अध्ययन गराउन ५८ जना स्वयंसेवक शिक्षक खटाएर पठनपाठन गराउँदै आएको छ।