सहायतालाई मोलमोलाइको विषय नबनाउन इजरायललाई बाइडेनको चेतावनी

हमासका वार्ताकारले इजिप्टमा मध्यस्थकर्तासँग भएको वार्ता छोडेपछि रमजान शुरू हुनुअघि नयाँ युद्धविरामको आशा क्षीण हुँदै गएको समय बाइडेनको यो भनाइ आएको हो। 

अमेरिकी राष्ट्रपति जो बाइडेनले गाजामा पठाउने सहायतालाई मोलमोलाइको विषय (बार्गेनिङ चिप) नबनाउन इजरायललाई चेतावनी दिएका छन्। 

अमेरिकी संयुक्त सदनमा आफ्नो वार्षिक ‘स्टेट अफ द युनियन’ सम्बोधनका क्रममा राष्ट्रपति बाइडेनले गाजामा तत्काल अस्थायी युद्धविराम गर्न आह्वानसमेत गरे। सो क्रममा उनले पाँच महिना लामो युद्धका बारेमा अहिलेसम्मकै सबैभन्दा कडा टिप्पणी गरेको समाचार संस्था एएफपीले लेखेको छ। 

हमासका वार्ताकारले इजिप्टमा मध्यस्थकर्तासँग भएको वार्ता छोडेपछि रमजान शुरू हुनुअघि नयाँ युद्धविरामको आशा क्षीण हुँदै गएको समय बाइडेनको यो भनाइ आएको हो। 

“मानवीय सहायता गौण वा मोलमोलाइको विषय हुन सक्दैन भन्ने कुरा इजरायलको नेतृत्वलाई बताउन चाहन्छु। निर्दोष जीवनको रक्षा र संरक्षण प्राथमिकता हुनुपर्छ,” उनले भने।

गाजामा बढ्दो मानवीय संकटका बाबजुद इजरायललाई दिएको निरन्तर समर्थनका कारण राजनीतिक दबाबको सामना गरिरहेका राष्ट्रपति बाइडेनले अमेरिकी कर्मचारी तटीय क्षेत्रमा रहने र सहयोगीले बन्दरगाहबाट तटवर्ती अपरेसनको प्रबन्ध गर्ने बताए।  

युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेनले शुक्रबार भूमध्यसागरीय टापुमा प्रस्तावित करिडोरका विषयमा वार्ता गर्ने अपेक्षा गरिएको छ।

गाजामा सहायताका लागि सडक पहुँच अवरुद्ध भएपछि प्यालेस्टिनी क्षेत्रका लागि संयुक्त राष्ट्रसंघीय सहायता संयोजक सिग्रिड कागले हवाई मार्गको स्वागत गरे। “हामीलाई थाहा छ कि हामीले लामो समयसम्म गाजावासीलाई मानवीय सहायता कायम राख्नुपर्छ,” उनले भने।

बाइडेनको सम्बोधनअघि अमेरिकी अधिकारीले बन्दरगाहमा योजनाबद्ध रूपमा सहायता वितरण शुरू केही हप्ता लाग्ने बताएका थिए।