बिरामी नहुने गाउँ ‘सिक्लेस’

सिक्लेसको प्रमुख पेसा कृषि र पर्यटन हुन्। गाउँमा २९ वटा सामुदायिक होमस्टे छन्। सिक्लेस, करीतसा, हुगु र क्हफुचे क्षेत्रमा ४६ वटा होटल सञ्चालित छन् ।

शब्द/तस्वीर: नेपाल फोटो लाइब्रेरी

कास्की सदरमुकाम पोखरादेखि करिब ३८ किमीको दूरीमा सुन्दर गाउँ ‘सिक्लेस’ अवस्थित छ। मादी गाउँपालिका–१ मा पर्ने यहाँ ४०० घरधुरी बस्छन्। यस गाउँलाई गुरुङ भाषामा ‘च्यीली’ भनेर चिनिन्छ। 

च्यीली कसरी रहन गयो भन्नेबारे विभिन्न किम्बदन्ती छन्। अनि च्यीलीबाट कसरी सिक्लेस भयो? यसको पनि ठोस जवाफ छैन। ‘सिक’ भन्नाले बिरामी र लेस भन्नाले नभएको वा बिरामी कम भएको गाउँ ‘सिक्लेस’ नामकरण भएको विश्वास छ। तर यसमा ऐतिहासिक, वैज्ञानिक वा तथ्यपरक अर्थ भने नभेटिएको मादी–१ का वडाध्यक्ष देवीजङ गुरुङले बताए। 

सिक्लेसमा हाल हर्पथर, लामाथर, गैरीथर, धप्राङथर, सभाथर (कोइथर) गरी ५ वटा टोल छन्। यहाँको प्रमुख पेसाको रूपमा कृषि र पर्यटन हो। गाउँमा २९ वटा सामुदायिक होमस्टे छन्। सिक्लेस, करीतसा, हुगु र क्हफुचे क्षेत्रमा ४६ वटा होटल सञ्चालित छन् ।

गाउँ समुद्री सतहदेखि दुई हजार मिटर उचाइमा अन्नपूर्ण र लमजुङ हिमालको काखमा छ। जताबाट हेर्दा पनि हिमाल छयाङ्‌गै खुलेको देखिन्छ। तमुहरूको अन्तिम पैतृक राज्य क्होलासोथरबाट बिस्तार गरेको पहिलो राज्य भएकोले यसलाई सिक्लेस भनेर पनि ‘प्ये’मा उल्लेख छ।

यो गाउँमा आफ्नै भाषा, संस्कार, संस्कृति र परम्परा भएको हुनाले गुरुङहरूको इतिहास अध्ययनको पाठशाला हो। नेपालको अक्षांश र देशान्तर दुवै रेखाबाट काटिदा कायम भएको मध्यबिन्दु कोरी यसै वडामा छ। नेपालकै सबैभन्दा कम उचाइको हिमताल क्हफुचे हिमताल पनि यहीँ पर्छ।

सिक्लेस महत्त्वपूर्ण राजनीतिक घटनाको पनि साक्षी हो। तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता बाबुराम भट्टराई २०६३ असार २ गते सिक्लेसमा सार्वजनिक भएका थिए। त्यसपछि हेलिकप्टरमार्फत सिधै बालुवाटार गएर शान्ति सम्झौताको रेखा कोरिएको थियो। 

त्यसैले, नेपालको राजनीतिक इतिहासमा विस्तृत शान्ति सम्झौताको प्रस्थान बिन्दुका रूपमा पनि सिक्लेसलाई लिने गरिन्छ।