दक्षिण कोरियामा माछा मार्ने डुंगा पल्टिँदा ६ जना बेपत्ता

९ टन क्षमताको डुंगा तटीय शहर तोङयोङको एक टापुबाट ६८ किलोमिटर दक्षिणमा सुमुद्रमा पल्टिएको छ। डुंगामा इन्डोनेसियाली नागरिकसहित नौ जना सवार थिए।

दक्षिण कोरियाको दक्षिणी तटमा माछा मार्ने डुंगा पल्टिँदा ६ जना बेपत्ता भएका छन्। 

दक्षिण कोरियाली योनहाप समाचार संस्थाका अनुसार २९ टन क्षमताको डुंगा तटीय शहर तोङयोङको एक टापुबाट ६८ किलोमिटर दक्षिणमा सुमुद्रमा पल्टिएको थियो। 

डुंगामा इन्डोनेसियाली नागरिकसहित नौ जना सवार थिए। चालक दलका तीन सदस्यलाई उद्धार गरिएको छ तर सबै अचेत अवस्थामा छन् । “हामी अझै पनि हराइरहेका ६ जनाको खोजी गरिरहेका छौं,” स्थानीय सरकारी अधिकारी ली हो–जुनले भने। 

दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले नौसेना र माछा मार्ने डुंगासहित उपलब्ध कर्मचारी र उपकरण परिचालन गरेर जीवन बचाउन सक्दो प्रयास गर्न निर्देशन दिए।

योनहापका अनुसार डुंगा बिहीबार बिहान देशको दक्षिणी टापु जेजुबाट छुटेको र त्यसपछि माछा मार्ने काममा व्यस्त थियो।